नेभिगेशन
नेपाल प्रहरी

प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई मर्यादित व्यवहार गर्न बाँकेका एसपीको निर्देशन

बाँके जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तिमगरले प्रहरी कर्मचारीलाई ईमानदार भएर राज्यले दिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् । 

गत शुक्रबार बाँके प्रहरीको कमान्ड सम्हालेको ३ दिनपछि जिल्लाभरका सबै युनिट इन्चार्जहरुसँगको परिचयात्मक कार्यक्रममा एसपी घर्तिमगरले कानुनको कार्यान्वयनमा नचुक्न र नझुक्न निर्देशन दिएका हुन् ।

एसपी घर्तिमगरले अपराध अनुसन्धान र शान्ति सुरक्षाको काममा कठोर रूपमा कानुन पालन गर्न निर्देशन दिएका हुन् । साथै उनले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै बर्दीको इज्जत जोगाउन भन्दै प्रहरीलाई चुस्त र दुरुस्त भएर काम गर्न निर्देशन दिएका छन् ।

प्रहरीको रणनीति, योजना र दृष्टिकोण तल्लो तहसम्म पुर्याउन सबैले पहल गर्नुपर्नेमा उए जोड दिएका थिए। त्यसैगरी संगठनका नीति गम्भीरतापूर्वक पालना गर्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिँदै आचरण विपरीत कार्य गर्नेलाई कारवाही गर्ने समेत एसपी घर्तिमगरले चेतावनी दिएका छन् ।

प्रहरी कार्यालयमा आउने जोसुकै सेवाग्राहीसँग मर्यादित व्यवहार गर्न भन्दै उनले छिटोछरितो सेवा प्रवाहले प्रहरीप्रतिको जनदृष्टिकोण सकारात्मक हुने विश्वास व्यक्त गरे।

जिल्लाभर युनिट इन्चार्जहरुले निर्देशनको पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनीहरुले पेशागत क्षमता र लगनशीलताका साथ नयाँ चुनौतीको सामना गर्न प्रहरी तयार रहेको बताएका हुन् ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्