नेभिगेशन
नेपाल प्रहरी

सरकारी कीर्ते कागज बनाउने कारखानामा अपराध अनुसन्धानको छापा,तीन जना पक्राउ

काठमाडौं । अपराध अनुसन्धान कार्यालयले सरकारी तथा बैंक वित्तिय संस्थाका काजातहरू कीर्ते गरी नक्कली बनाउने कारखानामा छापा मार्दै ३ जनालाई पक्राउ गरेको छ ।

अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा गोरखास्थित भीमसेनथापा गाउँपालिका-१ घर भएका ४६ वर्षीय अन्जनी बयलकोटी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका-७ घर भएका २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका-२ छयाङ्ढुङकी २३ वर्षीया अन्जु खत्री रहेका छन् । 

एसएसपी रमेश बस्नेतका अनुसार उक्त समूहले  काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङमा कार्यालयन नै खडा गरेर सरकारी कागजातहरू नक्कली बनाउने गरेको पाइएको हो। उनीहरुलाई बुधबार पक्राउ गरेर आज सार्वजनिक गरिएको हो। सरकारी कागजातहरू, शैक्षिक प्रमाणपत्र, स्थानीय तहका कागजातहरू, बैंक तथा वित्तिय संस्थाका कागजातहरू उनीहरूले बनाउँदै आएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको  छ ।

पक्राउ परेकाहरू तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको एसएसपी बस्नेतले बताए  । पक्राउ परेका बयलकोटीले विगत ८ वर्षदेखि यो धन्दा चलाएको अपराध अनुसन्धान कार्यालयको भनाइ छ । उनले जग्गा धनीपूर्जादेखि सवारी चालक अनुमतिपत्र समेत नक्कली बनाउने गरेको प्रहरीको भनाइ छ ।

यसका मुख्य योजनाकार बयलकोटी नै हुन् । उनले फुटुङमा कोठा भाडा लिएर दुई जना सहयोगी समेत राखेर काम गरेको पाइएको छ । जसमा मासिक १० हजारदेखि १५ हजार रुपैयाँ तलब समेत दिने गरेको पाइएको प्रहरीले बताएको छ ।

यो समूहले डिपेन्डेन्ट भिसाका लागि चाहिने म्यारिज सर्टिफिकेट समेत बनाइदिने गरेको प्रहरीले बताएको छ। यो कारखानाबाट ठूलो संख्यामा नक्कली डकुमेन्ट पनि बरामद गरेको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्