नेभिगेशन
नेपाल प्रहरी

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने सात जना पक्राउ

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा अर्घाखाँची घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने २८ वर्षीय सन्तोष अधिकारी, दाङ घर भई काठमाडौं महानगरपालिका–३ बस्ने २९ वर्षीय हेमन्त केसी, सुनसरी घर भई बुढानिलकण्ठ नगरपालिका–११ बस्ने ४२ वर्षीय सुक देव राई, सुनसरी घर भई बुढानिलकण्ठ नगरपालिका–३ बस्ने ३४ वर्षीय मनिष पोदार, रूपन्देही घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने ४७ वर्षीय राम रतन मिश्र, कास्की घर भई टोखा बस्ने ३९ वर्षीय अमृत अधिकारी तथा रौतहट घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ३५ वर्षीय मिर इसलामाना रहेका छन्।

प्रहरीले जनाएको अनुसार सन्तोषले ग्रिस पठाइदिने भन्दै एक जनाबाट १० लाख रुपैयाँ, हेमन्तले क्रोएसिया पठाइदिने भन्दै एक जनाबाट १३ लाख ३० हजार रुपैयाँ, सुक देवले सर्बिया पठाइदिने भन्दै दुई जनाबाट १३ लाख रुपैयाँ, मनिषले बेलायत पठाइदिने भन्दै एक जनाबाट २ लाख रुपैयाँ, रामले यूएई पठाइदिने भन्दै एक जनाबाट २ लाख ३० हजार रुपैयाँ, अमृतले अजरबैजान पठाइदिने भन्दै एक जनाबाट ३ लाख ५० हजार रुपैयाँ तथा मिरले बेलायत पठाइदिने भन्दै एक जनाबाट १२ लाख ६३ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्