नेभिगेशन
नेपाल प्रहरी

आकर्षक तलबको प्रलोभन देखाएर टर्की र बेलायत पठाउने भन्दै लाखौं ठगी गर्ने दुई पक्राउ

काठमाडौं ।  वैदेशिक रोजगारीका लागि टर्की र बेलायत पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका–७ बस्ने बारा निजगढ नगरपालिका–१३ घर भएका ४९ वर्षीय सुरेश गिरी र ललितपुर महालक्ष्मी नगरपालिका–१ बस्ने संखुवासभा चैनपुर नगरपालिका–३ घर भएका ७० वर्षीय वीरबहादुर श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार सुरेश गिरीले टर्की पठाइदिने भन्दै एक जनाबाट १ लाख ९० हजार रुपैयाँ तथा वीरबहादुर श्रेष्ठले बेलायत पठाइदिने भन्दै अर्का एक जनाबाट २ लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।

उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले सुरेश गिरीलाई काठमाडौं महानगरपालिका–१२ र वीरबहादुर श्रेष्ठलाई ललितपुर महालक्ष्मी नगरपालिका–१ बाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्