नेभिगेशन
नेपाल प्रहरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन–चाँदीका गरगहना बरामद, दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश पठाउन लागिएको कार्गोबाट सुन तथा चाँदीका गरगहना बरामद गरिएको छ।  घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार असार १६ गते साँझ करिब साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो भवनमा रहेको एक कार्गो पार्सलको एक्स–रे परीक्षण गर्ने क्रममा शंका लागेपछि थप जाँच गरिएको थियो। उक्त पार्सलको विवरण (मेनिफेस्ट) मा जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडा उल्लेख भए पनि एक्स–रे परीक्षणका क्रममा विवरणअनुसारका सामग्री नदेखिएपछि बाकस खोलेर परीक्षण गर्दा सुन तथा चाँदीका विभिन्न गरगहना फेला परेका हुन्।

प्रहरी कार्यालयका अनुसार उक्त पार्सल काठमाडौंस्थित एपेक्स लजिस्टिक प्रालिमार्फत संयुक्त राज्य अमेरिका पठाउने तयारी गरिएको थियो। बरामद गरिएका सामग्री नियन्त्रणमा लिएसँगै एपेक्स लजिस्टिक प्रालिका ४६ वर्षीय सञ्चालक यज्ञराज सुवेदी र युनिक कार्गो झापाका ३४ वर्षीय सञ्चालक रामप्रसाद दाहाललाई पक्राउ गरिएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद गरिएका गरगहनासहित आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको कार्यालयले जनाएको छ।

बरामद गरिएका सुनका गरगहनामा नौगेडी, चन्द्रमा, जन्तर, विभिन्न प्रकारका ब्रोच, शिरफूल, नेपालको झण्डा अंकित ब्रोच, खुकुरी आकारका ब्रोच, मंगलसूत्र, मोतीमाला, रानीहार तथा त्रिशूल रहेका छन्। यस्तै चाँदीका गरगहनामा विभिन्न प्रकारका नेकलेस, काँडावाला चुरा, शिरबन्दी सेट, झुम्का, तिलहरी तथा घाँटीमा लगाउने सिक्री बरामद भएको प्रहरीले  जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्