नेभिगेशन
नेपाल प्रहरी

कारागार सुरक्षामा खटिएका प्रहरीलाई आफ्नै सहकर्मीको बन्दुकबाट गोली लागेपछि...!

काठमाडौं  । आफ्नै सहकर्मी प्रहरीको गोली लागेर नेपाल प्रहरीका एक जवान गम्भीर घाइते भएका छन्। घटना सप्तरीको राजविराज नगरपालिका–६ स्थित कारागारको सुरक्षामा खटिएका प्रहरीबीच भएको हो।

घाइते हुनेमा नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर (धनुषा) दरबन्दीका २२ वर्षीय प्रहरी जवान बिसोजित राय यादव रहेका छन्। उनको कम्मरमाथिको ढाडमा गोली लागेको छ।

घटनापछि घाइते यादवलाई तत्काल उद्धार गरी गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज पुर्‍याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित घोपा क्याम्पमा रेफर गरिएको कारागार प्रमुख रूपक मण्डलले जानकारी दिए।

घटना भएपछि गोली चलेको एसएलआर राइफल बोकेका २२ वर्षीय प्रहरी जवान अजय कुमार मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई हाल जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखेर घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार घटना बुधबार राति करिब ११:२० बजे भएको हो। राति १० बजेदेखि २ बजेसम्मको ड्युटीमा रहेका प्रहरी जवान बिसोजित यादव शौचालयबाट आफ्नो पोस्टतर्फ फर्किरहेका बेला पोस्ट नम्बर–४ मा ड्युटीमा रहेका प्रहरी जवान अजय कुमार मेताले बोकेको एसएलआर राइफलबाट अचानक एक राउन्ड गोली चलेको थियो। उक्त गोली यादवको कम्मरमाथिको ढाडमा लाग्दा उनी गम्भीर घाइते भएका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्