नेभिगेशन
नेपाल प्रहरी

प्रहरी र सशस्त्र प्रहरीको निमित्त प्रमुखमा एआईजी राजन अधिकारी र वंशी दाहाल

काठमाडौं । नेपाल प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी सबैभन्दा सिनियर एआईजी राजन अधिकारीलाई दिइएको छ भने सशस्त्र प्रहरी बलको निमित्त प्रमुखको जिम्मेवारी संगठनक वरिष्ठ एआईजी वंशीराज दाहालले पाएका छन्। दुवै जना आफ्ना–आफ्ना संगठनका पहिलो वरीयताका एआईजी हुन्।

नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल संयुक्त राष्ट्रसंघ (यूएन) को प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन आइतबार अमेरिका प्रस्थान गरेपछि उनीहरूलाई निमित्त नेतृत्वको जिम्मेवारी दिइएको हो।

प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार आईजीपी कार्कीको अनुपस्थितिमा नियमित प्रशासनिक तथा संगठनात्मक कामकाज अधिकारीले सम्हाल्नेछन्। अधिकारी हाल मानवस्रोत विकास विभागबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भइसकेका छन्।

यता, सशस्त्र प्रहरी बलमा सीमा सुरक्षा विभाग प्रमुख एआईजी वंशीराज दाहालले संगठनको नेतृत्व सम्हाल्नेछन्।

आईजीद्वय न्यूयोर्कस्थित यूएन मुख्यालयमा जुलाई ७ देखि ९ सम्म आयोजना हुने सदस्य राष्ट्रका प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन अमेरिका गएका हुन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्