नेभिगेशन
नेपाल प्रहरी

कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ, नगद पनि बरामद

काठमाडौं ।  मदिरा पसलबाट एक राउण्ड गोली लोड गरिएको कटुवा पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ

रौतहटको गरुडा नगरपालिका–५ झाझपुलस्थित गौतम सहनीले सञ्चालन गरेको मदिरा पसलबाट गरुडा नगरपालिका–९ बिर्ताका अन्दाजी ४२ वर्षीय सदरे आलमलाई लोड गरिएको पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार  असार २२ गते शरीर खानतलासी गर्ने क्रममा उनको कमरमा भिरेको अवस्थामा एक राउण्ड गोली लोड रहेको एक नाल कटुवा पेस्तोल फेला परेको थियो।

अनुसन्धानका क्रममा आज बिहान सोधपुछ गर्दा सदरे आलमले मदिरा पसलको पछाडिको खेतमा रहेको झ्याङमा थप गोली र नगद लुकाएर राखेको बताएका थिए। त्यसपछि प्रहरीले उनलाई साथमा लिएर उक्त स्थानमा खानतलासी गर्दा कटुवा पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली, १ थान ब्ल्याङ्क राउण्ड, कालो रङको पर्सभित्र भारतीय रुपैयाँ २४ हजार ५००, नेपाली रुपैयाँ ३२ हजार ५०० तथा २ वटा नाइट्राभेट ट्याबलेट बरामद गरेको जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्