नेभिगेशन
नेपाल प्रहरी

टीकापुर प्रहरी हिरासतबाट लागूऔषध मुद्दाका थुनुवा फरार, छानबिन समिति गठन

धनगढी । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट लागूऔषध मुद्दामा थुनामा रहेका एक व्यक्ति फरार भएपछि घटनाको छानबिन सुरु गरिएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीले पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा समिति गठन गरिएको हो। घटनापछि ड्युटीमा रहेका प्रहरी जवान ललि भण्डारीलाई निलम्बन गरिएको प्रहरीले जनाएको छ।

फरार हुने व्यक्ति टीकापुर नगरपालिका–१ निवासी ३१ वर्षीय संजय नगार्जी रहेको प्रहरीको भनाइ छ। प्रारम्भिक विवरणअनुसार उनले आइतबार राति पानी पिउने बहाना बनाएर हिरासतबाट बाहिर निस्कने क्रममा ड्युटीमा रहेका प्रहरीलाई धकेलेर भागेका थिए।

नगार्जीलाई असार ९ गते लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ गरिएको थियो। उनी फरार भएपछि उनको खोजीका लागि विभिन्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीले घटनाका सबै पक्षबारे अनुसन्धान जारी रहेको र फरार थुनुवालाई पक्राउ गर्न खोजी कार्यलाई तीव्र बनाइएको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्