नेभिगेशन
नेपाल प्रहरी

१५ वर्षीय किशोरको शंकास्पद मृत्यु घटनामा वडाध्यक्ष पक्राउ

काठमाडौं । एक किशोरको शंकास्पद मृत्यु घटनामा प्रहरीले वडाध्यक्षलाई पक्राउ गरेको छ। पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का वडाध्यक्ष देउकुमार आङदेम्बेलाई मृत्यु घटनामा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार आङदेम्बेको घरमा काम गर्दै आएकी सोही स्थानका करिब १५ वर्षीय किशोर टठेनहाङ आङदेम्बे २०८१ असार १४ गते नाक र मुखबाट रगत बगेको अवस्थामा आफू सुतेकै ठाउँमा मृत फेला परेका थिए। घटनापछि मृतकका बुवा खेमबहादुर आङदेम्बेले सोही दिन जिल्ला प्रहरी कार्यालय पाँचथरमा ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएका थिए।

पछि २०८३ साल असार ८ गते मृतककी आमा लालकुमारी चेम्जोङले पनि वडा अध्यक्ष आङदेम्बेविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी दर्ता गराएकी थिइन्। उक्त जाहेरीका आधारमा जिल्ला अदालत पाँचथर, फिदिमले असार १० गते पक्राउ अनुमति जारी गरेको थियो।

अदालतको आदेशपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको विशेष टोलीले  फिदिम नगरपालिका–४ स्थित फिदिम बजारबाट आङदेम्बेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका आङदेम्बेलाई जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ। हाल उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्