नेभिगेशन
नेपाल प्रहरी

बर्दियाबाट ३२ लाख बढीको भन्सार छलीका सामानसहितको ट्रक नियन्त्रणमा, दुई जना पक्राउ

बर्दिया। बर्दियामा प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइएका ३२ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न फेन्सी कपडा तथा अन्य सामानसहित एक मिनी ट्रक नियन्त्रणमा लिँदै दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले आज मधुवन नगरपालिका–४ स्थित सडकखण्डमा सवारी जाँच गर्ने क्रममा कैलालीबाट तारातालतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ क १९९१ नम्बरको मिनी ट्रक रोकेको थियो। जाँचका क्रममा ट्रकमा भन्सार छली गरी ल्याइएका विभिन्न सामग्री फेला परेपछि ट्रकसहित सामान नियन्त्रणमा लिइएको हो।

प्रहरीले ट्रकका चालक कैलालीको घोडाघोडी नगरपालिका–११ पहलमानपुरका ४४ वर्षीय चुनु राम चौधरी र टिकापुर नगरपालिका–१ बगरैयागाउँका ३० वर्षीय अजय चौधरीलाई पक्राउ गरेको जनाएको छ।

बरामद सामानमा प्लास्टिक रेनकोट, खादा, स्पोर्ट्स हाफ पाइन्ट, अन्डरवेयर, छाता, टी–सर्ट, जिन्स तथा कपासका पाइन्ट, विन्डचिटर, ट्राउजर, बेल्ट, टोपीलगायतका ठूलो परिमाणका सामग्री रहेका छन्। बर्दिया प्रहरीका अनुसार बरामद सामान र मिनी ट्रकको अनुमानित कुल मूल्य रु. ३२ लाख ६३ हजार ६ सय रहेको छ।

बरामद सामान, सवारी साधन तथा पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि भन्सार कार्यालय, गुलरिया पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्