नेभिगेशन
नेपाल प्रहरी

सीमापार अपराध रोक्न नरैनापुरस्थित भगवानपुर प्रहरी र एसएसबीबीच सहमति

बाँके । नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन बाँकेको नरैनापुरस्थित इलाका प्रहरी कार्यालय भगवानपुर र भारतीय सशस्त्र सीमा बल (एसएसबी) ६२ औँ बटालियनबीच द्विपक्षीय समन्वय बैठक सम्पन्न भएको छ।

बैठकमा सीमा क्षेत्रमा हुने अवैध निकासी–पैठारी, तस्करी, लागूऔषध ओसारपसारलगायत सीमापार अपराध नियन्त्रणका विषयमा विस्तृत छलफल भएको थियो। दुवै पक्षले यस्ता गतिविधि रोकथामका लागि  सूचनाको नियमित आदानप्रदान गर्ने, आवश्यक पर्दा तत्काल गुप्तचर  सूचना प्रणालीमार्फत जानकारी साझा गर्ने तथा समन्वयात्मक ढंगले द्रुत कारबाही अघि बढाउने सहमति गरेका छन्।

इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेश कोइरालाले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र कानुन व्यवस्था कायम राख्न नेपाल प्रहरी र भारतीय एसएसबीबीचको सहकार्य महत्वपूर्ण रहेको बताए। उनले आपसी विश्वास र निरन्तर सम्पर्कले अपराध नियन्त्रणमा थप प्रभावकारिता आउने विश्वास व्यक्त गरे।

बैठकको समापनमा दुवै पक्षले पारस्परिक सम्मान, मित्रता र सहकार्यलाई उच्च महत्व दिँदै सीमा क्षेत्रको सुरक्षा सुदृढ बनाउन निरन्तर समन्वय र संयुक्त प्रयासलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

भगवानपुर प्रहरीका अनुसार यस्ता नियमित द्विपक्षीय बैठकले सीमा क्षेत्रमा देखिने सुरक्षा चुनौतीको सामना गर्न, सूचना आदानप्रदानलाई व्यवस्थित बनाउन तथा अपराध नियन्त्रणमा प्रभावकारी समन्वय स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्