नेभिगेशन
नेपाल प्रहरी

बाँकेसहितका स्थानमा पाँच जनाको शव फेला, घटनाबारे प्रहरीको अनुसन्धान जारी

काठमाडौं । बाँकेसहित देशका पाँच जिल्लामा पाँच जना मृत अवस्थामा फेला परेका छन्। घटनाका सम्बन्धमा नेपाल प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–३ बैसास्थित प्रतिक्षालयमा राप्तीसोनारी–४ कुम्मरका ५५ वर्षीय सुखाराम थारू (हलैया) शनिबार मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

त्यसैगरी, झापाको मेचीनगर नगरपालिका–१२ देवीवस्तु टोलस्थित आफ्नै घरभित्र ३७ वर्षीया बिनिता कार्की बुढाथोकी शुक्रबार मृत अवस्थामा भेटिएकी हुन्। जाजरकोटको भेरी नगरपालिका–६ खलङ्गादेखि नेटा जाने सडकखण्ड नजिक गङ्गटेका ५७ वर्षीय धर्मबहादुर शाही पनि शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै, तनहुँको घिरिङ गाउँपालिका–४ स्थित कालीगण्डकी नदीमा करिब ४० वर्ष उमेरका एक पुरुषको शव शनिबार फेला परेको छ। उनको परिचय भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। त्यसैगरि, काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित इन्द्रावती खोलाको बगर नजिक सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ भिमटारका ५१ वर्षीय खिलबहादुर माझी शनिबार मृत अवस्थामा फेला परेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्