नेभिगेशन
नेपाल प्रहरी

पाकेटमारविरुद्ध ‘स्वीप अभियान’: बसमा सादा पोसाकका प्रहरी परिचालन

काठमाडौँ। काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीसाधनमा हुने पाकेटमारी नियन्त्रण गर्न प्रहरीले विशेष ‘स्वीप अभियान’ सञ्चालन गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रमा सादा पोसाकमा प्रहरी परिचालन गर्दै पाकेटमारविरुद्ध निगरानी बढाएको हो।

कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार सार्वजनिक बसमा यात्रा गर्ने यात्रुलाई लक्षित गरेर पाकेटमारीका घटना बढिरहेको सूचनापछि अभियान सुरु गरिएको हो। विशेषगरी भीडभाड हुने बस र रुटमा सादा पोसाकका प्रहरी परिचालन गरी शंकास्पद गतिविधिमाथि निगरानी राखिएको उनले जानकारी दिए।

प्रहरीका अनुसार भक्तपुर, थानकोट, कीर्तिपुर, हरिसिद्धि तथा चक्रपथ रुटमा सञ्चालन हुने सवारीसाधनमा विशेष निगरानी थालिएको छ। अभियान लगातार १० दिनसम्म सञ्चालन हुने र यस अवधिमा पाकेटमारीमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रहरीले यात्रुलाई भीडभाडका बेला आफ्नो मोबाइल, पर्स तथा अन्य बहुमूल्य सामान सुरक्षित राख्न र कुनै शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्