नेभिगेशन
नेपाल प्रहरी

दाङ,बर्दियासहित देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं । लागू औषधविरुद्धको प्रहरी कारबाहीमा बर्दिया ,दाङ ,काठमाडौं, झापा, मकवानपुर, धनुषा, नवलपरासी (पश्चिम) र रूपन्देहीका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ परेका छन् ।

बर्दियाको बारबर्दिया नगरपालिका–६ कोठारपुरबाट १९ वर्षीय निशान चौधरी र १९ वर्षीय रोहित चौधरीलाई ब्राउनसुगर ४ ग्राम ७० मिलिग्रामसहित बर्दिया प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

त्यसैगरि,दाङको घोराही उपमहानगरपालिका–१५ बाट २७ वर्षीय सुरेश चौधरीलाई  ७५० मिलिग्राम ब्राउन सुगर  र नगद ४ हजार ५०० रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार नवलपरासी (पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–२ सुगौलीबाट २५ वर्षीय सोहित कम्कर र २३ वर्षीय मोहम्मद अब्जल अन्सारीलाई डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगनका ६४५- ६४५ एम्पुलसहित पक्राउ गरिएको छ भने रूपन्देहीको रोहिणी गाउँपालिका–७ टिकरबाट २१ वर्षीय राज चौधरीलाई बुप्रेनोर्फिन ७६ एम्पुल, प्रोमेथाजाइन ६१ एम्पुल र डाइजेपाम ७३ एम्पुलसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यस्तै काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कबाट पाँचथर फिदिम नगरपालिका–१४ घर भई नयाँ बसपार्क बस्दै आएका ३० वर्षीय रबिन मगरलाई ब्राउनसुगर २५० मिलिग्रामसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका क्रममा उक्त पदार्थ तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली बस्ने रसुवा उत्तरगैया गाउँपालिका–५ घर भएकी ३२ वर्षीया रबिना बर्देवासँग खरिद गरेको खुलेपछि उनको कोठामा तलासी गर्दा ब्राउनसुगर ७ ग्राम ३५० मिलिग्राम, एक थान डिजिटल तराजु र नगद २ लाख ८९ हजार ५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। त्यसपछि रबिना बर्देवालाई पनि पक्राउ गरिएको हो।

यसैगरी काठमाडौंकै कीर्तिपुर नगरपालिका–५ राराहिलबाट ३७ वर्षीय संजिप कार्कीलाई ट्रामाडोल ८० ट्याब्लेट, टापेन्टाडोल २० ट्याब्लेट, नाइट्राजेपाम १० ट्याब्लेट र नगद ५ हजार ४० रुपैयाँसहित पक्राउ गरिएको छ। प्रहरीले उनले प्रयोग गरेको बा-प्र-०२–०४३ प ९५४१ नम्बरको स्कुटर पनि बरामद गरेको जनाएको छ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेबाट चितवन राप्ती नगरपालिका–१३ का ३१ वर्षीय मनिष प्रजालाई गाँजा जस्तो देखिने पदार्थ ११ किलो ७३४ ग्रामसहित पक्राउ गरिएको छ भने धनुषाको विदेह नगरपालिका–१ बाट औरही गाउँपालिका–८ का २२ वर्षीय बिकि मण्डललाई खैरो हेरोइन १०० मिलिग्रामसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैगरि,झापाको भद्रपुर नगरपालिका–५ मेचीबिटबाट भारतबाट नेपालतर्फ आउँदै गरेका शिवसताक्षी नगरपालिका–१ का ३६ वर्षीय नारायण बजगाई र २६ वर्षीय युवराज ढकाललाई ब्राउनसुगर ४ ग्राम २७ मिलिग्रामसहित पक्राउ गरिएको छ। त्यस्तै हल्दीबारी गाउँपालिका–३ का २६ वर्षीय सनम गुरुङलाई आफ्नै घरबाट ब्राउनसुगर  १ ग्राम २९ मिलिग्रामसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

लागूऔषधसहित पक्राउ परेकाहरुसँग सम्बन्धित प्रहरी कार्यालयले म्याद लिएर थप  अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्