नेभिगेशन
नेपाल प्रहरी

सैलुनबाट पेस्तोल र गोली बरामद प्रकरण: सैलुन सञ्चालकसहित दुई भारतीय पक्राउ

काठमाडौं । सैलुनबाट (कपाल काट्ने पसल) प्रहरीले एक थान पेस्तोल र गोलीसहित सैलुन पसल सञ्चालन गर्दै आएका एक भारतीय युवकलाई पक्राउ गरेपछि थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित प्रादेशिक अस्पताल जाने सडकमा रहेको एक सैलुनबाट अवैध पेस्तोल र गोली बरामद भएपछि प्रहरीले अनुसन्धानको दायरा विस्तार गर्दै थप दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विशेष सूचनाको आधारमा असार २८ गते सैलुनमा छापा मारिएको थियो। तलासीका क्रममा पसलभित्रको कुर्सीमाथि राखिएको कालो प्लास्टिकको झोलाभित्र रहेको ‘२ इन १ भ्याकुम क्लिनर’ लेखिएको बक्सबाट एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने दुई राउन्ड गोली फेला परेको थियो।

उक्त सैलुन भारतको बिहार राज्य, सितामढी जिल्लाका स्थायी बासिन्दा ३८ वर्षीय राजेश कुमारले सञ्चालन गर्दै आएका थिए। हतियार बरामद भएपछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा हतियार त्यहाँ पुर्‍याउने र त्यसमा सहयोग गर्ने अन्य व्यक्तिको संलग्नता देखिएपछि प्रहरीले असार २९ गते ब्रह्मपुरी गाउँपालिका–४ स्थित पुल क्षेत्रबाट थप दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढी जिल्लाका २३ वर्षीय डब्लु कुमार र ३६ वर्षीय महमद अबुलेस रहेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार डब्लु कुमारले हतियार सैलुनमा राखेको तथा महमद अबुलेसले त्यस कार्यमा सहयोग गरेको खुलेको छ।

तीनै जनाविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार घटनाको पृष्ठभूमि, हतियारको स्रोत र यसको प्रयोगसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्