काठमाडौं । नेपाल प्रहरीको कारबाहीमा देशभरबाट विभिन्न किसिमका लागूऔषधसहित २५ जना पक्राउ परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–१० घुईयाघाटबाट १६६ मिलिग्राम ब्राउन सुगरसहित ३५ वर्षीय राजेश राना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
यस्तै धनगढी उपमहानगरपालिका–३ माछा मार्ग टोलबाट ३३५ मिलिग्राम ब्राउन सुगरसहित २८ वर्षीय सुरज चौधरीसहित ५ जना पक्राउ परेका छन्। प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
मोरङको रंगेली नगरपालिका–६ पुरानो भन्सार टोलबाट २६ ग्राम ५१ मिलिग्राम खैरो हेरोइनसहित पथरी शनिश्चरे नगरपालिका–१ की २० वर्षीया भुमिका फागो र इलाम चुलाचुली गाउँपालिका–१ का २३ वर्षीय सम्योक वानेम फागो पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
त्यसैगरी रंगेली नगरपालिका–७ काली मन्दिर चोकबाट ५ ग्राम ५ मिलिग्राम खैरो हेरोइनसहित पथरी शनिश्चरे नगरपालिका–१ का २२ वर्षीय भुपाल कार्की पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरको टोलीले नियन्त्रणमा लिएको प्रधान कार्यालयले जनाएको छ।
स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३१ एम्पुल, डाइजेपाम २९ एम्पुल र फेनारगन ३० एम्पुलसहित कास्की पोखरा महानगरपालिका–१८ का ३५ वर्षीय पुण्यप्रसाद आचार्य र पोखरा महानगरपालिका–५ का २९ वर्षीय सुरज प्याकुरेल पक्राउ परेका छन्। अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको टोलीले बुटवलबाट गल्याङतर्फ जाँदै गरेको बसमा उनीहरूलाई पक्राउ गरेको हो।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीबाट ३०० मिलिग्राम ब्राउन सुगरसहित २८ वर्षीय अमित भुजेल र २१ वर्षीय कृतन चौधरी पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतसहितको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
सुनसरीको धरान उपमहानगरपालिका–१९ भिक्टोरिया चोकबाट १ ग्राम ५१० मिलिग्राम ब्राउन सुगरसहित ३९ वर्षीय विजय लिम्बु र ३५ वर्षीय पुर्ण श्रेष्ठ पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
इटहरी उपमहानगरपालिका–४ लालीगुँरास टोलबाट ९१० मिलिग्राम खैरो हेरोइनसहित मोरङ कानेपोखरी नगरपालिका–५ का २८ वर्षीय बिनोद बयाँलकोटीसहित ३ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
धरान उपमहानगरपालिका–५ सितल बस्तीबाट १ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित ५७ वर्षीय चोक्मान तामाङ पक्राउ परेका छन्। अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
नुवाकोटको बिदुर नगरपालिका–१ सिमुटारबाट करिब २०५ ग्राम गाँजा र २० ग्राम चरेससहित २१ वर्षीय आभास खतिवडा र २१ वर्षीय बादल मिजार पक्राउ परेका छन्। अस्थायी प्रहरी पोस्ट सिमुटारबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट ६ ग्राम ८० मिलिग्राम खैरो हेरोइनसहित बिर्तामोड नगरपालिका–१ का ३० वर्षीय मो। सदाम हुसेन, बिर्तामोड नगरपालिका–५ बस्ने भारत बिहार घर भएका १९ वर्षीय मुबारक अली र इलाम फाकफोकथुम गाउँपालिका–३ का ४१ वर्षीय रमेश थेगिम पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
सिराहाको सिरहा नगरपालिका–१७ बाट ९ ग्राम ब्राउन सुगरसहित सिन्धुली कमलामाई नगरपालिका–६ का ४४ वर्षीय महेश कुमार थापा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई नियन्त्रणमा लिएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।