नेभिगेशन
नेपाल प्रहरी

बर्दियामा ६८ अपराधका मुद्दा दर्ता, १७ किलो अफिमसहित ठूलो परिमाणमा लागुऔषध बरामद, ४० फरार पक्राउ

काठमाडौं  । जिल्ला प्रहरी कार्यालय बर्दियाले असार महिनामा अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, फैसला कार्यान्वयन, शान्ति सुरक्षा तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।

बर्दिया प्रहरीले सार्वजनिक गरेको मासिक विवरणअनुसार असार महिनाभर ६८ वटा अपराधका मुद्दा दर्ता भएका छन्। तीमध्ये ७ वटा जघन्य तथा गम्भीर अपराध, ६ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित र ३ वटा आर्थिक अपराध रहेका छन्। यस अवधिमा विभिन्न मुद्दाका ५३ जना प्रतिवादी पक्राउ परेका छन्।

फैसला कार्यान्वयनलाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ। यस क्रममा ३८ पुरुष र २ महिला गरी ४० फरार प्रतिवादी पक्राउ गरिएको छ। उनीहरूमाथि अदालतबाट ठेकिएको ६९ वर्ष ४ महिना ४ दिन कैद सजाय तथा ७ लाख ६३ हजार ३२४ रुपैयाँ जरिवाना रहेको जिल्ला  प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी  डीएसपी रेशम बोहराले जानकारी दिएका छन् ।

डीएसपी बोहराका अनुसार लागुऔषध नियन्त्रण अभियानमा बर्दिया प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको छ। असार महिनामा ३८ ग्राम ९४८ मिलिग्राम ब्राउनसुगर, १७ किलो २६६ ग्राम अफिम र ४५० मिलिग्राम चरेस बरामद गरिएको छ। यससँग सम्बन्धित घटनामा ब्राउनसुगरसहित २२ जना, अफिमसहित ५ जना र चरेससहित २ जना गरी २९ जनालाई पक्राउ गरिएको बोहराले बताए ।

त्यसैगरि,महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ३५ वटा उजुरी दर्ता भएका छन्। घरेलु हिंसाका २९ वटा उजुरी परेकामा सबै उजुरीको कानुनी प्रक्रिया तथा मिलापत्रमार्फत टुंगो लगाइएको छ। गुलरिया नगरपालिकामा मात्रै २५ वटा घरेलु हिंसाका उजुरी दर्ता भएको डीएसपी बोहराले जानकारी दिएका छन् ।

हराएका २० जना महिला, पुरुष तथा बालबालिकालाई प्रहरीले सकुशल फेला पारेको जनाएको छ। यस अवधिमा १० जनाले आत्महत्या गरेका छन्, जसमा ४ पुरुष र ६ महिला रहेका छन्। आत्महत्या दुरुत्साहनसम्बन्धी ३ वटा मुद्दा पनि दर्ता भएका छन्।

प्रहरी कार्यालयमा प्रत्यक्ष रूपमा परेका २७६ वटा ठाडो उजुरी तथा जिल्ला प्रशासन कार्यालयमार्फत आएका २४ वटा उजुरी सबै फर्छ्यौट गरिएको प्रहरीले जनाएको छ।

शान्ति सुरक्षातर्फ नियमित पिकेट, गस्ती, एलआरपी र एसआरपी परिचालनलाई निरन्तरता दिइएको छ। असार महिनामा १९ वटा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि कारबाही गरी ८ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरिएको डीएसपी बोहराले बताए।

उनका अनुसार सीमा क्षेत्रमा चेकजाँच कडा बनाउने क्रममा प्रहरीले ७५ लाख ६६ हजार ५७३ रुपैयाँ बराबरका अवैध भन्सार छलीका सामान बरामद गरी ४ जनालाई पक्राउ गरेको जनाएको छ। यसैगरी १२ बोर बन्दुकको एक नाल समेत बरामद गरिएको छ।

विपद् व्यवस्थापनअन्तर्गत जंगली जनावरको आक्रमण र चट्याङका घटना व्यवस्थापनमा प्रहरी परिचालन गरिएको थियो। जंगली जनावरको आक्रमणबाट १ जनाको मृत्यु र १ जना घाइते भएका थिए भने उद्धार कार्यमा प्रहरी सक्रिय रूपमा खटिएको थियो। प्राकृतिक सम्पदा दोहन नियन्त्रण अभियानमा ४ वटा सवारी साधन नियन्त्रणमा लिई २५ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाभर १५२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। विद्यालय तथा समुदायमा आयोजना गरिएका कार्यक्रममा ५ हजार ५९७ जना सहभागी भएका थिए। लागूऔषध दुव्र्यसन, साइबर अपराध, ट्राफिक सुरक्षा, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा लगायतका विषयमा जनचेतना अभिवृद्धि गरिएको जिल्ला प्रहरी बर्दियाले जनाएको छ।

यस अवधिमा नागरिकता, हतियार नवीकरण तथा अन्य प्रयोजनका ५२ वटा मुचुल्का तयार गरिएको, प्रहरी हटलाइनमा ५२१ वटा कल प्राप्त भएको तथा ३३५ जना सेवाग्राहीलाई नागरिक सहायता कक्षमार्फत सेवा प्रदान गरिएको पनि बर्दिया प्रहरीको विवरणमा उल्लेख छ।

प्रहरी कर्मचारीको मनोबल अभिवृद्धिका लागि नियमित छलफल, समस्या सुनुवाइ, उत्कृष्ट प्रहरी सम्मान तथा कार्यसम्पादन सुधारका कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखको कार्यकक्ष निर्माण, एयर कन्डिसन जडान तथा कार्यालय परिसरमा तीनवटा आरओ  पानी फिल्टर जडान गरी सेवासुविधा विस्तार गरिएको छ भने आगामी दिनमा पनि अपराध नियन्त्रण, लागूऔषध ओसारपसार रोकथाम, सीमा सुरक्षा, ट्राफिक व्यवस्थापन तथा समुदायसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै शान्ति सुरक्षालाई थप सुदृढ बनाइने डीएसपी बोहराले जानकारी दिएका छन् ।

बर्दिया प्रहरीद्वारा सार्वजनिक प्रगति विवरण -

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्