नेभिगेशन
नेपाल प्रहरी

प्रहरी हिरासतमा रहेका व्यक्ति छुटाइदिने भन्दै रकम लिने चौधरी पक्राउ

काठमाडौं  । अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई हिरासतबाट छुटाइदिने भन्दै रकमको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले  पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले रकम कारोबार गरेको आरोपमा  जिल्लाको विष्णु गाउँपालिका–४ बस्ने ४० वर्षीय बेचन भन्ने अवधेस चौधरीलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले साउन २३ गते पक्राउ गरेको हो।

प्रहरीका अनुसार चौधरीले सोही ठाउँका राजेन्द्र रायसँग मिलेर प्रहरी कर्मचारीलाई प्रभावित पारी अनुसन्धानका क्रममा नियन्त्रणमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका राजेन्द्र रायको भने खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

नेपाल प्रहरीले प्रदान गर्ने सबै प्रकारका प्रहरी सेवा निःशुल्क हुने भएकाले प्रहरीको नाममा रकम माग्ने वा लिने व्यक्तिबाट सचेत रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। त्यस्ता गतिविधिबारे जानकारी भएमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुखको मोबाइल नम्बर ९८५४०७५५५५ वा सूचना अधिकारीको नम्बर ९८५४०५६२२२ मा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्