नेभिगेशन
नेपाल प्रहरी

स्रोत नखुलेको साढे ५२ लाख नगदसहित चार जना प्रहरीको नियन्त्रणमा

काठमाडौँ । पर्साको वीरगन्जबाट प्रहरीले स्रोत खुलाउन नसकेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका–१० आदर्शनगर क्षेत्रमा सोमबार साँझ दुईवटा मोटरसाइकलमा सवार व्यक्तिहरूमाथि शंका लागेर प्रहरीले जाँच गरेको थियो। सो क्रममा ठूलो परिमाणमा नगद रकम भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईले जानकारी दिए।

पक्राउ पर्नेमा भारतको सीतामढीका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह र सोही स्थानका २६ वर्षीय सागरकुमार सर्राफ तथा पर्साको विन्दबासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन्।

प्रहरीका अनुसार सुरजको साथबाट १ लाख रुपैयाँ, उपेन्द्रबाट १८ लाख १६ हजार रुपैयाँ, सागरकुमारबाट १८ लाख ३४ हजार रुपैयाँ र राहुलकुमारबाट १६ लाख रुपैयाँ बरामद भएको छ। बरामद रकम ५ सय र १ हजार दरका नोटमा रहेको प्रहरीले जनाएको छ।

स्रोत नखुलेको उक्त रकमको कारोबार तथा त्यसको प्रयोजनबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्