नेभिगेशन
नेपाल प्रहरी

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै करोडौँ ठगी गरेको आरोपमा पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबसहित विभिन्न देश पठाइदिने प्रलोभन देखाएर रकम असुली सम्पर्कविहीन भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–८ बस्ने ३० वर्षीय करण ऐर, बुढानिलकण्ठ नगरपालिका–१३ घर भई काठमाडौं महानगरपालिका–१२ बस्ने ३० वर्षीया सुनिता श्रेष्ठ, मोरङको बेलबारी नगरपालिका–२ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५ बस्ने ३६ वर्षीय प्रेम पुरी, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ बस्ने ४२ वर्षीय अच्युत दुलाल र कालिकोटको खाँडाचक्र नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–२८ बस्ने ३५ वर्षीय बिर्खबहादुर विक रहेका छन्।

प्रहरीका अनुसार करण ऐरले क्रोएसिया पठाइदिने भन्दै एक जना पीडितबाट ६ लाख रुपैयाँ, सुनिता श्रेष्ठले युरोप पठाइदिने भन्दै एक जनाबाट ३ लाख ५० हजार रुपैयाँ लिएको आरोप छ।

त्यस्तै, प्रेम पुरीले जापान पठाइदिने भन्दै ११४ जना पीडितबाट २ करोड २५ लाख रुपैयाँ, अच्युत दुलालले क्यानडा पठाइदिने भन्दै एक जनाबाट ३७ लाख रुपैयाँ तथा बिर्खबहादुर विकले क्रोएसिया पठाइदिने भन्दै एक जनाबाट १ लाख रुपैयाँ असुली सम्पर्कविहीन भएको उजुरी परेको प्रहरीले जनाएको छ।

उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्