नेभिगेशन
नेपाल प्रहरी

वरिष्ठ सई जयप्रकाश भट्ट उत्कृष्ट प्रहरी घोषित

बर्दिया । संगठनले दिएको जिम्मेवारी उच्च व्यावसायिकता, इमानदारी र प्रभावकारी ढंगले निर्वाह गरेको मूल्यांकन गर्दै प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) जयप्रकाश भट्टलाई २०८३ साल साउन महिनाको बर्दिया जिल्लाकै ‘उत्कृष्ट प्रहरी’ घोषणा गरिएको छ।

हाल इलाका प्रहरी कार्यालय  मैनापोखरमा कार्यरत वरिष्ठ सई भट्टले जिम्मेवारी सम्हालेदेखि सीमा क्षेत्रमा हुने तस्करी, अवैध गतिविधि तथा लागूऔषध कारोबार नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

वरिष्ठ सई भट्टको नेतृत्व तथा सक्रियतामा भारतबाट भन्सार छली नेपाल भित्र्याइएका विभिन्न मालसामान नियन्त्रणमा लिनुका साथै लागूऔषध (ब्राउन सुगर) बरामद गर्ने र कारोबार तथा ओसारपसारमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउने कार्यमा उल्लेखनीय सफलता हासिल भएको जनाइएको छ।

त्यस्तै, अवैध रूपमा माटो उत्खनन तथा प्राकृतिक स्रोतको गैरकानुनी दोहनमा संलग्न व्यक्तिमाथि निगरानी बढाउँदै पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने कार्यमा समेत भट्टले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ।
सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तस्करी तथा लागूऔषध नियन्त्रणका लागि निरन्तर सक्रिय रहँदै जिम्मेवारीप्रति प्रतिबद्ध भएर काम गरेको भन्दै उनको कार्यसम्पादनको कदरस्वरूप साउन महिनाको उत्कृष्ट प्रहरी छनोट गरिएको हो।

भट्टलाई कर्तव्यनिष्ठ, अनुशासित र परिणाममुखी प्रहरी अधिकृतका रूपमा सहकर्मी तथा स्थानीयस्तरमा समेत चिनिने गरिएको प्रहरी स्रोतले जनाएको छ। कठिन परिस्थितिमा समेत जिम्मेवारीबाट पछि नहट्ने र कानून कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्ने अधिकृतका रूपमा उनको पहिचान बनेको बताइएको छ।

उत्कृष्ट प्रहरी घोषित भएपछि भट्टले आगामी दिनमा पनि संगठनले दिएको जिम्मेवारीलाई थप प्रभावकारी ढंगले पूरा गर्दै अपराध नियन्त्रण र नागरिक सुरक्षाका क्षेत्रमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रहरी संगठनले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक महिना उत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ। सोही क्रममा साउन महिनामा भट्टले पुर्‍याएको योगदान र कार्यसम्पादनको मूल्यांकन गर्दै उनलाई  उत्कृष्ट प्रहरी घोषणा गर्दै बर्दिया प्रहरी प्रकुख प्रहरी उपरीक्षक (एसपी) सरोज पौडेलले पुरस्कृत गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्