नेभिगेशन
नेपाल प्रहरी

बाँकेमा साउन महिनामा १४४ अपराधका मुद्दा दर्ता, लागूऔषधसहित ३१ जना पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले साउन महिनामा अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण, सवारी दुर्घटना व्यवस्थापन तथा नागरिक सहायता लगायतका क्षेत्रमा उल्लेख्य गतिविधि गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार साउन महिनामा विभिन्न प्रकृतिका १४४ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये जघन्य तथा गम्भीर अपराधका ९, सामान्य अपराधका ८४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १५ र आर्थिक अपराधका ३६ वटा मुद्दा रहेका छन्।

यस अवधिमा चालु मुद्दाका १२६ जना प्रतिवादी पक्राउ परेका छन् भने सार्वजनिक चासो रहेका २३ वटा पेण्डिङ मुद्दाको सफल अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी भने कुनै मुद्दा दर्ता नभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

फैसला कार्यान्वयनतर्फ ८० जना पक्राउ परेका छन्। पक्राउ परेकाबाट ४५ वर्ष ३ महिना २३ दिन कैद तथा रु. ४७ लाख १० हजार ३५१ बिगो/क्षतिपूर्ति कार्यान्वयन भएको बाँके प्रहरीले जनाएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ १०५ वटा उजुरी परेकोमा १०३ वटा फर्छ्यौट  भएका छन् भने २ वटा फर्छ्यौट  हुन बाँकी छन्। पिडित तथा पिडकको उमेर समूह विश्लेषण गर्दा १८–२५ वर्षका ७६ जना र २६–३९ वर्षका २९ जना रहेका छन्।

प्रहरीका अनुसार हराएका व्यक्तितर्फ महिला २०, बालिका २० र बालक ४ जना रहेका थिए। तीमध्ये महिला १६, बालिका १७ र बालक ४ जना फेला परेका छन्। महिला ४ जना र बालिका ३ जना भने फेला पर्न बाँकी रहेको विवरणमा उल्लेख छ।

घरेलु हिंसातर्फ ६३ वटा उजुरी परेका थिए। तीमध्ये ६१ वटा मिलापत्र गराइएको वा अदालत पठाइएको छ। प्रहरी कार्यालयमा प्रत्यक्ष रूपमा परेको ठाडो उजुरीतर्फ ५७२ वटा उजुरी दर्ता भएको विवरणमा उल्लेख छ।

लागूऔषध नियन्त्रणमा ३१ जना पक्राउ

साउन महिनामा लागूऔषध नियन्त्रणतर्फ १७ वटा मुद्दा दर्ता गरी ३१ जना पक्राउ गरिएको छ। प्रहरीले यस क्रममा ब्राउनसुगर १ किलो ८५५ ग्राम, नाइट्राजेपाम १६० ट्याबलेट र गाँजा २ किलो २६० ग्राम बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

यसै क्रममा साउन १८ गते नेपालगञ्ज उपमहानगरपालिका–४ न्युरोडस्थित रणबहादुर केसीको घरमा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सुशिल भण्डारी र अरुण कुमार जयसवाललाई पक्राउ गरेको थियो।

उनीहरूको खानतलासी गर्दा १३६ ग्राम ८५० मिलिग्राम लागूऔषध फेला परेको थियो। अनुसन्धानका क्रममा जयसवालको घर खानतलासी गर्दा दराजबाट थप ३८९ ग्राम ४५ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ बरामद भएको थियो। यसरी कुल ५२६ ग्राम २९० मिलिग्राम लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

त्यसैगरी उनीहरूको साथ तथा घरबाट भारतीय रुपैयाँ २ लाख १ हजार ४००, नेपाली रुपैयाँ १ लाख ८० हजार, गरी जम्मा नेपाली रुपैयाँ ५ लाख २ हजार २४० बराबरको रकम तथा २ वटा मोटरसाइकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

आत्महत्याका  ८ वटा घटना 

साउन महिनामा बाँकेमा ८ वटा आत्महत्याका घटना भएका छन्। तीमध्ये झुण्डिएर ५ र विष सेवनबाट ३ जनाले आत्महत्या गरेको बाँके प्रहरीले जनाएको छ। आत्महत्या गर्नेमा पुरुष ५ र महिला ३ जना रहेका छन्। उमेर समूहका आधारमा २६–३५ वर्षका ४ जना र ४६–६० वर्षका ४ जना रहेको प्रहरीले जानकारी दिएको छ।

यसैगरी अपराध न्यूनीकरणका लागि प्रहरीले विद्यालय तथा समुदायमा ११६ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। ती कार्यक्रमबाट पुरुष २ हजार १२२ र महिला १ हजार ४०३ जना लाभान्वित भएको बाँके प्रहरीको विवरणमा उल्लेख छ।

शान्ति सुरक्षामा व्यापक प्रहरी परिचालन

शान्ति सुरक्षा तथा नियमित प्रहरी परिचालनतर्फ साउन महिनामा १ हजार २३ पटक पिकेट, ४ हजार ५८१ पटक ग्रामीण गस्ती (SRP), ४०३ पटक चेकिङ र ९ पटक ग्रामीण गस्ती (LRP) गरिएको छ।

विशेष परिस्थिति, मेला, पर्व, जात्रा तथा अन्य कार्यक्रमका क्रममा ७ वटा घटनामा ६११ जना प्रहरी कर्मचारी परिचालन गरिएको थियो।

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

साउन महिनामा बाँकेमा ८४ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा १२७ वटा सवारी साधन संलग्न थिए। दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २३ जना गम्भीर र ११९ जना सामान्य घाइते भएका छन्। यसरी दुर्घटनामा जम्मा १४२ जना घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको मुख्य कारणमा तीव्र गति ७५, चालकको लापरवाही १, यात्रु मादक पदार्थ सेवन २ र अन्य कारण ६ रहेका छन्।

चेकिङका क्रममा १ हजार ४८० वटा कारबाही गरिएको छ भने त्यसबाट रु. १२ लाख ४१ हजार ५०० राजस्व दाखिला भएको छ।

भन्सार छली र वन पैदावार नियन्त्रण

अवैध भन्सार छली नियन्त्रणतर्फ प्रहरीले रु. २१ लाख १४ हजार ४०७ मूल्य बराबरका सामान, २ जना व्यक्ति र ५ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।

अवैध वन पैदावार चोरी–पैठारी नियन्त्रणतर्फ ३५.९४ क्युफिट काठ नियन्त्रणमा लिइएको छ। यसबाट रु. १ लाख १६ हजार ७९० राजस्व प्राप्त भएको छ भने २ जना पक्राउ परेका छन्।

त्यसैगरी अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत १ हजार १५५ लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ। प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ ४ वटा सवारी साधन नियन्त्रणमा लिई रु. १६ हजार दण्ड जरिवाना गरिएको छ।

अवैध हातहतियार नियन्त्रणतर्फ बेवारिसे अवस्थामा रहेका २ थान घरेलु भरुवा बन्दुक बरामद गरिएको छ । 

नागरिकसँग प्रत्यक्ष जोडिँदै प्रहरी

प्रहरीले साउन महिनामा समुदाय तथा विद्यालय केन्द्रित ११६ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। ती कार्यक्रममा पुरुष १ हजार ३५२ र महिला ७७७ जना सहभागी भएका थिए। विद्यालय केन्द्रित २२ वटा कार्यक्रममार्फत २३७ बालक र १३९ बालिका सहभागी भएका छन्।

नागरिकता, हतियार नवीकरण तथा अन्य कागजातका लागि १२५ वटा नागरिकता र २७ वटा अन्य मुचुल्का तयार गरिएको छ। प्रहरी कार्यालयको हटलाइन वा डीआईजीको सम्पर्क नम्बरमा १ हजार ५८१ वटा कल आएको र नागरिक सहायता कक्षमा ७७८ जना सेवाग्राही दर्ता भएको विवरणमा उल्लेख छ।

चार स्थानमा नागरिक सुनुवाइ

प्रहरीले सार्वजनिक तथा नागरिक सुनुवाइ कार्यक्रमतर्फ ४ वटा कार्यक्रम आयोजना गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका–१५, नरैनापुर गाउँपालिका–५, नेपालगञ्ज उपमहानगरपालिका–४ र खजुरा गाउँपालिका–१ मा आयोजना गरिएको कार्यक्रममा २६५ जना सहभागी भएका थिए। नागरिक सुनुवाइमा समाजमा बढ्दो लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि समुदाय, भन्सार र प्रहरीको साझेदारीमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने विषय उठाइएको प्रहरीले जनाएको छ।

प्रहरी कर्मचारीको मनोबल वृद्धि तथा गुनासो व्यवस्थापनका लागि प्रहरी कर्मचारीसँग एक दिन अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो भने सी.प्र.अ.सँग दिवा खाना कार्यक्रमसमेत आयोजना गरिएको विवरणमा उल्लेख छ।

साउन महिनामा जिल्ला प्रहरी कार्यालय बाँकेले अपराध अनुसन्धान तथा नियन्त्रणसँगै लागूऔषध, भन्सार छली, वन पैदावार, अवैध मदिरा, सवारी दुर्घटना नियन्त्रण र नागरिक केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरेको  जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्