नेभिगेशन
नेपाल प्रहरी

लागूऔषधविरुद्ध प्रहरीको कारबाहीमा १५ जना पक्राउ

काठमाडौं। देशका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको लागूऔषधविरुद्धको कारबाहीमा १५ जना पक्राउ परेका छन्।

काठमाडौंको तारकेश्वर नगरपालिका–७ मनमैजुबाट ५ सय ७० मिलिग्रामसहित झापा घर भएका ३६ वर्षीय उमेश मुखिया पक्राउ परेका छन्। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

त्यस्तै, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० संगम टोलबाट ५ ग्राम ८ सय ६० मिलिग्रामसहित २३ वर्षीय घनश्याम बस्नेत पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

झापाको हल्दीबारी गाउँपालिका–२ कदम चोकबाट १ ग्राम ५५ मिलिग्राम खैरो हेरोइनसहित भद्रपुर नगरपालिका–७ का २३ वर्षीय सुबास राजवंशी पक्राउ परेका छन्। प्रहरी चौकी हल्दीबारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

सुनसरीको इटहरी उपमहानगरपालिका–८ बाट खैरो हेरोइन ६ सय मिलिग्राम, ट्रामाडोल ९ सय ४१ ट्याब्लेट, डाइक्लोमाइन १ हजार २ सय ३० ट्याब्लेट तथा नगद ५३ हजार २ सय १० रुपैयाँसहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इटहरी–५ जनताबस्तीका २६ वर्षीय निकेश माझीसहित अन्य ३ जना रहेका छन्। प्रहरीले उनीहरूले प्रयोग गरेको को।३६ प ५५४७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका–९ सल्लेवनबाट ३ सय ३० मिलिग्रामसहित २९ वर्षीय प्रेमबहादुर डाँगी र तुलसीपुर–८ का २९ वर्षीय वीरबहादुर चौधरी पक्राउ परेका छन्।

त्यसैगरी, दाङकै लमही नगरपालिका–५ सुनखोली गाउँबाट ५ सय ५० मिलिग्राम खैरो हेरोइनसहित भारत घर भएका २३ वर्षीय नसिव अहमद पक्राउ परेका छन्।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बाट ५ सय मिलिग्राम तथा नगद ६ हजार रुपैयाँसहित शिवराज नगरपालिका–९ बानियाभारका २२ वर्षीय अर्जुन सुनारसहित ३ जना पक्राउ परेका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार हाइटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९० ट्याब्लेटसहित धादिङ धुनीबेँसी नगरपालिका–२ घर भएका २९ वर्षीय सुरज लुइटेल पक्राउ परेका छन्।

यस्तै, सुनसरीको धरान उपमहानगरपालिका–१६ स्वामीचोकका २१ वर्षीय विदुर कार्कीलाई स्पास्पेन ४ सय २८ ट्याब्लेट र ट्रामाडोल ५ सय ४८ ट्याब्लेटसहित पक्राउ गरिएको छ। प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारेको जनाएको छ। पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्