नेभिगेशन
विपद्

भोटेकोशी बाढीमा दाङका ४७ जना अझै सम्पर्कविहीन

दाङ । भदौ १० गते बिहान भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि दाङका ४७ जना अझै सम्पर्कमा आउन सकेका छैनन्। स्थानीय प्रशासनका अनुसार सम्पर्कविहीन हुनेमा ४० पुरुष र ७ महिला छन्।

सोमबार दिउँसो साढे २ बजेसम्मको विवरणअनुसार उनीहरू सम्पर्कविहीन रहेका हुन्। यसबीच पाँच जना पुरुष भने परिवारको सम्पर्कमा आइसकेका जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ।

प्रशासनले पछिल्लो पटक सार्वजनिक गरेको विवरणअनुसार राजपुर गाउँपालिका–७ ऐराना घर भई रसुवागढीमा काम गर्ने ४० वर्षीय दिपेन्द्र बुढा मगर र उनकी ३७ वर्षीया श्रीमती विमती खत्री, तुलसीपुर–१९ का २९ वर्षीय दिलबहादुर पुन, लमही नगरपालिका–४ घर भई रसुवास्थित त्रिशूली हाइड्रोपावरमा इलेक्ट्रिक काम गर्ने ३२ वर्षीय सुकदेव चौधरी र तुलसीपुर–११ नवलपुर घर भई रसुवा–चीन सीमा क्षेत्रमा जेसीबी अपरेटरका रूपमा कार्यरत ३३ वर्षीय जनक शाह ठकुरी अझै फेला परेका छैनन्।

यसअघि प्रशासनले बबई गाउँपालिका–७ चरकमटिया घर भई रसुवास्थित घट्टेखोलामा जेसीबी अपरेटरका रूपमा काम गर्ने २६ वर्षीय निरज भनिने डिल्ली सार्की पनि सम्पर्कविहीन रहेको जनाएको थियो।

त्यस्तै तुलसीपुर–१४ ग्वारखोला घर भई रसुवामा श्रमिकका रूपमा काम गर्ने २५ वर्षीया सिर्जना थापा, राप्ती गाउँपालिका–४ मौरीघाट घर भई रसुवामा रोड मिस्त्रीका रूपमा काम गर्ने ४५ वर्षीय रामबहादुर चौधरी, राप्ती गाउँपालिका–६ बगरापुर घर भई रसुवामा घर मिस्त्रीको काम गर्ने २२ वर्षीय अनिल चौधरी र गढवा गाउँपालिका–६ खबरी घर भई रसुवामा डिब्बा गाडी चालक रहेका ३१ वर्षीय ज्ञानु पुन पनि सम्पर्कविहीन छन्।

भदौ १३ गते साँझ सार्वजनिक गरिएको विवरणमा गढवा–३ रतनपुर घर भई रसुवाको टिमुरेमा नेपाली सेनामा कार्यरत ३१ वर्षीय दिपप्रकाश चौधरी र गढवा–४ पर्सा घर भई रसुवास्थित त्रिशूली हाइड्रोपावरमा कार्यरत ४१ वर्षीय भगवानदिन चौधरी सम्पर्कविहीन रहेको उल्लेख थियो।

त्यसअघि लमही–३ बनगाउँ घर भई रसुवास्थित मैलुङ हाइड्रोपावरमा काम गर्ने शम्भुजित चौधरी, घोराही उपमहानगरपालिका–१२ घर भई रसुवामा जेसीबी चालकरअपरेटरका रूपमा काम गर्ने प्रकाश बिक, राप्ती गाउँपालिका–३ बसन्तपुर घर भई रसुवामा काम गर्ने २६ वर्षीय सर्वेस चौधरी, लमही–६ खैरी घर भई रसुवामा ज्याला मजदुरी गर्ने २६ वर्षीया सिवानी चौधरी र राजपुर गाउँपालिका–४ सिमलखुट्टी घर भई रसुवामा काम गर्दै आएका ४० वर्षीय अर्जुन घर्ती सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको थियो।

यस्तै लमही–४ घर भई रसुवास्थित त्रिशूली हाइड्रोपावरमा काम गर्ने २८ वर्षीय सरदकुमार चौधरी, तुलसीपुर–१५ घर भई लाङटाङ खोला हाइड्रोपावरमा कार्यरत सब–इन्जिनियर अरुण चौधरी, तुलसीपुर–६ घर भई रसुवास्थित त्रिशूली हाइड्रोपावरमा काम गर्ने रन्जित वली, तुलसीपुर–२ का देवबहादुर गाहा मगर, तुलसीपुर–१९ का जयमान विश्वकर्मा, तुलसीपुर–१९ कै सुरेश चौधरी, सोही वडाका लालबहादुर सुनार र गोपाल पुन मगर पनि हालसम्म सम्पर्कविहीन छन्।

रुकुम पूर्व घर भई हाल घोराही–१२ बस्दै आएका मिलन श्रेष्ठ, तुलसीपुर–१३ हात्तीखौवा घर भई रसुवामा टुरिस्ट गाइडका रूपमा काम गर्ने ३० वर्षीया नारायणी पराजुली, तुलसीपुर–६ घर भई रसुवा धुन्चे ब्यारेकमा कार्यरत ४२ वर्षीय नेपाली सेनाका टेकबहादुर राना, सल्यान त्रिवेणी गाउँपालिका–५ घर भई हाल तुलसीपुरमा बस्दै आएका तथा नुवाकोट हाइड्रोपावरमा कार्यरत प्रेम महतरा र सल्यान त्रिवेणी–५ घर भई तुलसीपुरमा बस्दै आएका २७ वर्षीय बादल महतरा पनि सम्पर्कमा आएका छैनन्।

बादल नुवाकोट हाइड्रोपावरमा कार्यरत रहेको प्रशासनले जनाएको छ। त्यसैगरी तुलसीपुर–१५ मलवारका बजारु चौधरी र उनकी श्रीमती पनि हालसम्म सम्पर्कविहीन छन्।

स्थानीय प्रशासनले यसअघि दाङका थप १७ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरेको थियो। उक्त विवरणमा तुलसीपुरकी कोपिला केसी, हाल रसुवाको स्यार्पुबेसी स्वास्थ्य चौकीमा कार्यरत खम्बु बोहोरा, रसुवास्थित मैलुङ हाइड्रोपावरमा कार्यरत शिव शंकर जोशी, सल्यान पुर्ख्यौली घर भई हाल तुलसीपुर–९ बस्ने तथा टिमुरे हाइड्रोपावरमा कार्यरत प्रमिला बुढाथोकी, नुवाकोटस्थित फेवा हाइड्रोपावरको सुरुङमा कार्यरत शोभाराम योगी, लालबहादुर रोका, गोपीलाल रोका र नारायण अधिकारी रहेका छन्।

त्यस्तै तुलसीपुर–९ दोघरेका ४६ वर्षीय पूर्णबहादुर बस्नेत, हाल घोराही उपमहानगरपालिका–१५ भरतपुर बस्ने तथा पुर्ख्यौली घर प्युठान भएका सूर्यबहादुर केसी, तुलसीपुर–१८ दुधरासका गोपाल परियार र विकास परियार, तुलसीपुर–१८ का सुदन गिरी, तुलसीपुरकी सिमा चौधरी, तुलसीपुर–१२ का बजारु चौधरी, दंगीशरण गाउँपालिका–६ का प्रेम बिक र पुर्ख्यौली घर रोल्पा भई हाल दाङ बस्ने राजेन्द्र महत पनि सम्पर्कविहीनको सूचीमा छन्।

राजेन्द्र महत रसुवास्थित त्रिशूली हाइड्रोपावरमा कार्यरत रहेको विवरणमा उल्लेख छ। प्रेम बिक भने फेवा हाइड्रोमा कार्यरत रहेको प्रशासनले जनाएको छ।

भोटेकोशीमा आएको बाढीपछि रसुवा, नुवाकोटलगायतका क्षेत्रमा रोजगारी तथा विभिन्न आयोजनामा कार्यरत दाङका नागरिकको अवस्था बुझ्न स्थानीय प्रशासनले खोजी तथा समन्वय गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्