नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरी इकाईको निरीक्षण औपचारिकतामा सीमित नराख्न सशस्त्र प्रहरी प्रमुख पौडेलको निर्देशन

काठमाडौं । सशस्त्र प्रहरी प्रमुख ( सशस्त्र प्रहरी महानिरीक्षक) नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बल, नेपालका इकाईहरूको वार्षिक निरीक्षणलाई औपचारिकतामा मात्र सीमित नराखी व्यावसायिकता, कार्यक्षेत्रको वास्तविक नतिजा, सीमा सुरक्षाको प्रभावकारिता र नागरिक तहमा संगठनले आर्जन गरेको जनविश्वासलाई मूल्याङ्कनको मुख्य आधार बनाउन निर्देशन दिएका छन्।

आज सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा केन्द्रीय निरीक्षणमा खटिने टोलीका सदस्यहरूका लागि सञ्चालन गरिएको अनुशिक्षण तालिमको समापन कार्यक्रममा महानिरीक्षक पौडेलले यस्तो निर्देशन दिएका हुन्। उक्त तालिम सशस्त्र प्रहरी बल, नेपाल केन्द्रीय निरीक्षण एवं उत्कृष्ट इकाइहरूको छनोट तथा योग्यताक्रम निर्धारणसम्बन्धी स्थायी आदेश, २०८०(तेस्रो संशोधन) बमोजिम सञ्चालन गरिएको थियो।

महानिरीक्षक पौडेलले निरीक्षण टोलीले कुनै पनि पूर्वाग्रह, व्यक्तिगत स्वार्थ वा पहुँचका आधारमा नभई निर्धारित कार्यविधि र निष्पक्ष मापदण्डका आधारमा इकाइहरूको मूल्याङ्कन गर्नुपर्ने बताए। उनले इकाइभित्र कमान्डर र फौजबीचको सामञ्जस्य, गुनासो व्यवस्थापन तथा आन्तरिक अनुशासनको अवस्थालाई समेत सूक्ष्म रूपमा अध्ययन गर्न निर्देशन दिए।

निरीक्षणका क्रममा इकाइभित्रका गतिविधिमा मात्र सीमित नभई अन्य सुरक्षा निकाय, स्थानीय सरकार तथा सरोकारवाला निकायसँगको समन्वय र सशस्त्र प्रहरीप्रतिको जनविश्वासको वास्तविक अवस्थासमेत मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ थियो। निरीक्षणमा खटिने कमान्डर तथा टोलीका सदस्यहरूले स्वयं उच्च नैतिक आचरण र व्यावसायिक अनुशासन प्रदर्शन गर्नुपर्नेमा पनि उनले जोड दिए।

पौडेलले विगतका वर्षमा अपनाइएका मूल्याङ्कन अभ्यासलाई परिमार्जन गर्दै वाहिनी, गण, गुल्म, तालिम केन्द्र तथा सीमा सुरक्षा बेससम्मको भूमिकालाई थप उत्तरदायी र जवाफदेही बनाउन विभिन्न टोली गठन गरी प्रदेशस्तरमा परिचालन गरिएको बताए। निरीक्षणलाई संस्थागत सुधारको माध्यम बनाउनुपर्नेमा उनले जोड दिए।

उक्त अनुशिक्षण तालिमको उद्घाटन मंसिर ९ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनीकुमार पोखरेलले गरेका थिए। उनले फरक–फरक टोलीबाट मूल्याङ्कन गर्दा हुन सक्ने त्रुटि न्यूनीकरण गर्दै देशभरका इकाइलाई एउटै मापदण्डमा मूल्याङ्कन गर्न यस्तो तालिम सञ्चालन गरिएको बताए।

निरीक्षण कार्यलाई पारदर्शी र निष्पक्ष बनाउन उच्च अधिकृतहरूको नेतृत्वमा विभिन्न विशेष टोली परिचालन गरिने भएको छ। निरीक्षण टोलीलाई तोकिएको ढाँचामा प्रतिवेदन तयार गर्नुका साथै इकाइको वास्तविक वस्तुस्थिति झल्किने थप प्रतिवेदनसमेत पेस गर्ने अधिकार दिइएको छ।

आर्थिक अनुशासन र सुशासन कायम गर्न निरीक्षण टोलीमा लेखा अधिकृतहरूलाई समेत सहभागी गराइएको छ। टोलीले इकाइहरूमा विनियोजित पुँजीगत बजेटअनुसार कार्यक्षेत्रमा वास्तविक काम भए–नभएको सूक्ष्म अनुगमन गर्नेछ।

निरीक्षण सम्पन्न भएपछि वस्तुनिष्ठ समीक्षा गरी सशस्त्र प्रहरी बल, नेपालको आगामी नीतिगत परिमार्जन, रणनीतिक योजना निर्माण तथा कार्यविधिगत सुधारलाई अघि बढाउने योजना रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्