नेभिगेशन
नेपाल प्रहरी

अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट अवैध लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। दाङ, कैलाली, कञ्चनपुर, भक्तपुर, झापा र बर्दियाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरबाट ब्राउनसुगरजस्तो देखिने १ ग्राम ४०० मिलिग्राम पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराही–८ का २२ वर्षीय सागर चौधरी र घोराही–७ नवलपुरका २५ वर्षीय शिसिर चौधरी रहेका छन्।

त्यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–२ ब्यारेल क्षेत्रबाट गोदावरी नगरपालिका–५ का ३१ वर्षीय टङ्कराज भट्ट र गोदावरी–६ का २६ वर्षीय खगेन्द्र नाथ पक्राउ परेका छन्।

कञ्चनपुरको बेलौरी नगरपालिका–७ टेडियाबाट लालझाडी गाउँपालिका–१ बिनाबारीका २६ वर्षीय रामजनम चौधरीसहित दुई जना तथा भीमदत्त नगरपालिका–११ बाट गोदावरी नगरपालिका–१ का २१ वर्षीय दिक्षीत साउँदलाई प्रहरीले पक्राउ गरेको छ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगातीबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ घर भई हाल काठमाडौँको कपन बस्ने ३० वर्षीय देबिन्द्र राई पक्राउ परेका छन्।

झापाको बाह्रदशी गाउँपालिका–५ बाट मोरङको रतुवामाई नगरपालिका–१० का ३० वर्षीय अनिष गुरुङ र सोही स्थानकी २१ वर्षीया रेजिना तोलाङ्गी पक्राउ परेका छन्। यस्तै, अर्जुनधारा नगरपालिका–६ पुर्वेलीटोलबाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलामको माई नगरपालिका–२ का ३३ वर्षीय डिककुमार कोइराला तथा अर्जुनधारा–६ का २४ वर्षीय सुजन खवास, २० वर्षीय पदम राई र २२ वर्षीय पूर्णबहादुर राई रहेका छन्।

यसैगरी, बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुर बाइपासबाट मधुवन नगरपालिका–८ लालीबजारका २१ वर्षीय सन्देश रानामगरसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ परेका सबैमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्