नेभिगेशन
नेपाल प्रहरी

जिल्ला कमान्ड सम्हाल्दै गरेका एसपीहरुलाई अपराध नियन्त्रणमा केन्द्रित हुन आईजीपीको निर्देशन

काठमाडौं ।  प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले नागरिकमैत्री, पारदर्शी र प्रभावकारी प्रहरी सेवा प्रवाह गर्दै जनताको भरोसा अभिवृद्धि हुने गरी कार्यसम्पादन गर्न प्रहरी उपरीक्षक(एसपी)हरूलाई निर्देशन दिएका छन्।

हालै सरुवा भई नयाँ कार्यक्षेत्रमा जान लागेका एसपीहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्बोधन गर्दै आईजीपी केसीले छिटोछरितो सेवा प्रवाह, नागरिकप्रतिको उत्तरदायित्व र व्यावसायिक कार्यशैलीलाई प्राथमिकतामा राख्न निर्देशन दिएका हुन्।

उनले आफ्नो कार्यक्षेत्रमा रहेका सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान तथा विश्लेषण गरी आवश्यकताअनुसार सुरक्षा योजना र रणनीति तयार गर्नुपर्ने बताए। योजनाबद्ध रूपमा प्रहरी परिचालन गर्दै शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा परिणाममुखी काम गर्नुपर्ने उनको भनाइ थियो।

आईजीपी केसीले साइबर अपराध, सीमा अपराध, तस्करी नियन्त्रण, अवैध हातहतियार बरामद तथा फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए। प्रहरी कर्मचारीहरू थप व्यावसायिक, अनुशासित, निष्ठावान र इमानदार हुनुपर्नेमा जोड दिँदै उनले जिम्मेवारी निर्वाहमा कुनै प्रकारको लापरबाही नगर्नसमेत सचेत गराए।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अल्पसंख्यक समुदायप्रति विशेष संवेदनशील हुन निर्देशन दिँदै उनले पीडितका गुनासोलाई उचित सम्बोधन गर्नुपर्ने बताए। प्रहरी कार्यालयबाट प्रदान गरिने सेवाहरूलाई सहज, सरल र नागरिकमैत्री बनाउँदै प्रहरीप्रति सर्वसाधारणको विश्वास बढाउने गरी काम गर्नुपर्ने उनको भनाइ थियो।

तल्लो तहका प्रहरीका गुनासो सम्बोधनमा जोड

प्रहरी महानिरीक्षक केसीले संगठनको आधारभूत तहमा कार्यरत प्रहरी कर्मचारीहरूको गुनासोलाई विशेष प्राथमिकतामा राखेर उचित सम्बोधन गर्न निर्देशन दिएका छन्।

सामूहिक भावना, नवीनतम सोच र जिम्मेवारीबोधका साथ काम गर्नुपर्ने उल्लेख गर्दै उनले कार्यालय व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन पनि प्रहरी अधिकृतहरूलाई आग्रह गरे।

त्यसैगरी, भिड नियन्त्रणका क्रममा बल प्रयोगसम्बन्धी स्थापित सिद्धान्तको पालना गर्दै संवेदनशील र जिम्मेवार ढंगले कार्यसम्पादन गर्नुपर्ने उनले बताए।

स्थानीय तहसँग समन्वय गरेर अपराध नियन्त्रण गर्न निर्देशन

आफ्नो कार्यक्षेत्रमा शान्ति सुव्यवस्था कायम राख्न तथा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य गर्नुपर्नेमा पनि आईजीपी केसीले जोड दिए।

प्रहरी एक्लैको प्रयासले मात्रै सबै सुरक्षा चुनौती समाधान नहुने भएकाले सम्बन्धित निकायसँग सहकार्य गर्दै योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक(डीआईजी) अबिनारायण काफ्लेलगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्