नेभिगेशन
नेपाल प्रहरी

साइकलयात्रीलाई ठक्कर दिएर फरार भएका स्कार्पियो चालक दुई दिनपछि पक्राउ

काठमाडौँ । साइकलयात्रीलाई ठक्कर दिएर फरार भएका स्कार्पियो चालकलाई प्रहरीले दुई दिनपछि पक्राउ गरेको छ। दुर्घटनामा संलग्न स्कार्पियोसमेत प्रहरीले बरामद गरेको छ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–४ बाह्रबिघा निवासी ४२ वर्षीय बिहारी महरा रहेका छन्। मंसिर ८ गते साँझ करिब ६ः५५ बजे सिरहाको गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित पूर्व–पश्चिम राजमार्गमा सिल्भर रङको स्कार्पियोले साइकलमा सवार ५० वर्षीय बसन्त महरालाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बसन्तको उपचारका क्रममा गोलबजार हेल्थकेयरमा मृत्यु भएको थियो।

दुर्घटनापछि चालक स्कार्पियोसहित घटनास्थलबाट फरार भएका थिए। प्रहरीले खोजी गर्ने क्रममा बा-प्र-०१–०२५ च ७३९६ नम्बरको स्कार्पियो पहिचान गरेको थियो।

खोजतलासका क्रममा बिहीबार धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित एक घरमा लुकिछिपी बसेको अवस्थामा चालक महरालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ परेका चालक र स्कार्पियोलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्