काठमाडौं । देशभरमा भएको जेन-जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट प्राप्त विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको छ।
त्यसैगरी देशभर का विभिन्न अस्पतालमा १ हजार ३६८ जना घाइते भएका थिए । उनीहरुमध्ये ३२१ जना अस्पतालमा उपचाररत छन् । हालसम्म ९४९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंस्थित सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, नेपालगन्जस्थित भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, बयोधा अस्पतालमा २, त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको हो ।
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो ।सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरूले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको थियो । झडपमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो ।