नेभिगेशन
नेपाल प्रहरी

युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठग्ने लालबहादुर अपराध अनुसन्धानको नियन्त्रणमा

काठमाडौँ । वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । युके पठाइदिने प्रलोभन देखाएर ५२ लाख रुपैयाँ  ठगी गरेको आरोपमा कास्कीको पोखरा महानगरपालिका–१५ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१२ मा बस्दै आएका ५० वर्षीय लालबहादुर बराइली पक्राउ परेका हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार बराइलीले एक जना व्यक्तिलाई युकेमा रोजगारी मिलाइदिने आश्वासन दिई ५२ लाख रुपैयाँ असुल गरेका थिए । तर लामो समयसम्म विभिन्न बहानामा झुलाउँदै अन्ततः विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितले उजुरी दिएका थिए ।

कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले प्राप्त उजुरीका आधारमा अनुसन्धान गरी बराइलीलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका बराइलीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको उहाँले बताउनुभयो ।

प्रहरीले पछिल्लो समय वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटना बढ्दै गएको उल्लेख गर्दै यस्ता प्रलोभनबाट सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्