काठमाडौं । लागूऔषधको कारोबार र ओसारपसार नियन्त्रण प्रहरीका लागि पछिल्लो समय ठूलो चुनौती बन्दै गएको छ। विशेषगरी खुला सीमाका कारण बाँकेसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भारतबाट लागूऔषध भित्र्याउने र नेपालबाट अन्यत्र ओसारपसार गर्ने प्रयास हुँदै आएका छन्।
यही चुनौतीबीच लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जका प्रहरी सहायक निरीक्षक (असई) नवीन कुमार शाही लागूऔषधविरुद्ध खरो रूपमा उत्रिएका छन्। केही वर्षदेखि शाहीको नेतृत्वमा रहेको ब्यूरोको टोलीले बाँकेसहित लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा लागूऔषध कारोबारीको निगरानी, पक्राउ तथा नियन्त्रण अभियानलाई तीव्रता दिँदै आएको छ। टोलीको सक्रियताकै कारण लागूऔषध कारोबारमा संलग्न सयौँ व्यक्तिलाई पक्राउ गर्न सफल भएको छ।
लागूऔषधको कारोबारमा संलग्न नेपाली मात्र होइन, भारतबाट लागूऔषधको डिलरका रूपमा आउने तथा कारोबारमा संलग्न भारतीय नागरिकहरूलाई समेत टोलीले पक्राउ गरेको छ। विभिन्न समयमा गरिएको पक्राउका क्रममा ठूलो परिमाणमा अफिम, गाँजा, ब्राउन सुगरलगायत प्रतिबन्धित लागूऔषध बरामद गरिएको छ।
शाही नेतृत्वको टोलीको सक्रियता लागूऔषध बरामद र कारोबारी पक्राउमा मात्रै सीमित छैन। लागूऔषध कारोबारको सञ्जाल पहिचान गर्ने, कारोबारीको गतिविधिमाथि निगरानी राख्ने र सूचना संकलन गरी योजनाबद्ध रूपमा पक्राउ तथा नियन्त्रण गर्ने काममा समेत टोली सक्रिय देखिन्छ।
लागूऔषध कारोबारी पक्राउ गर्ने क्रममा प्रहरी टोली आफैँ जोखिममा परेका घटनासमेत छन्।
कतिपय अवस्थामा प्रहरीमाथि आक्रमणको प्रयास हुँदासमेत टोली पछि हटेन। आफ्नो सुरक्षाको जोखिम मोलेर पनि टोलीले अभियुक्तलाई नियन्त्रणमा लिन र लागूऔषध बरामद गर्न सफल भएको छ।
लागूऔषधको सबैभन्दा ठूलो असर युवापुस्तामा देखिन्छ। केही व्यक्तिले आर्थिक लाभका लागि उज्ज्वल भविष्य बोकेका युवायुवतीलाई लागूऔषधको लतमा फसाउने गरेका छन्। उनीहरूको भविष्यसँग खेलवाड गर्ने यस्ता कारोबारीलाई नियन्त्रणमा लिन शाही नेतृत्वको टोलीले विशेष सक्रियता देखाउँदै आएको छ।
खुला सीमाका कारण बाँकेमा लागूऔषध नियन्त्रण सहज छैन। सीमापारिबाट लुकिछिपी लागूऔषध भित्र्याउनेदेखि नेपालका विभिन्न स्थानसम्म पुर्याउनेसम्मको सञ्जाल सक्रिय रहेको अवस्थामा प्रहरीको निरन्तर निगरानी र सूचना संयन्त्र महत्वपूर्ण बन्दै गएको छ।
यही चुनौतीबीच शाही नेतृत्वको टोलीले लागूऔषध कारोबारीमाथि निरन्तर निगरानी बढाउँदै पक्राउ तथा नियन्त्रण अभियानलाई अगाडि बढाइरहेको छ। टोलीको सक्रियताका कारण लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूमाथि दबाब बढेको छ भने ठूलो परिमाणमा लागूऔषध नियन्त्रणमा लिनसमेत सफलता मिलेको छ।
लागूऔषधविरुद्धको अभियानमा प्रहरीको सफलता पक्राउको संख्यामा मात्र नभई कारोबारको सञ्जाल कमजोर बनाउने र युवापुस्तालाई यसको जोखिमबाट जोगाउने विषयसँग पनि जोडिन्छ। त्यसैले लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जका असई शाही नेतृत्वको टोलीको सक्रियतामा बाँकेसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा लागूऔषध नियन्त्रणका लागि महत्वपूर्ण प्रयासका रूपमा देखिएको छ।
लागूऔषधविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउन निरन्तर सूचना संकलन, सीमाक्षेत्रमा निगरानी र कारोबारीको सञ्जाल पहिचान गरी पक्राउ तथा नियन्त्रण गर्ने अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने देखिन्छ ।