नेभिगेशन
नेपाल प्रहरी

लागूऔषधविरुद्ध प्रहरी कारबाही तीव्र, विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले गरेको लागूऔषधविरुद्धको कारबाहीमा देशका विभिन्न स्थानबाट २० जना पक्राउ परेका छन्। प्रहरीले काठमाडौं, कपिलवस्तु, सुर्खेत, पर्सा, सुनसरी, झापा र कैलालीबाट गाँजा, अफिम, चरेस, ब्राउनसुगर र ट्रामाडोलसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले म्यान्मारका दुई नागरिकलाई ८ किलो २३८ ग्राम गाँजासहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा यांगौन घर भएका २७ वर्षीया एई थिदा आङ र २९ वर्षीया ने थु रेन रहेका छन्। थाइल्याण्डबाट नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं आएका उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको टोलीले पक्राउ गरेको हो।

काठमाडौंको जडिबुटीबाट मकवानपुर घर भएका १९ वर्षीय राकेश मोक्तान ट्रामाडोल ३५० ट्याब्लेट र ८ हजार ५०० रुपैयाँ नगदसहित पक्राउ परेका छन्। प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले उनको कोठा तलासी गर्दा ट्रामाडोल फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो।

कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले पाँच जनालाई अफिम १० किलो ३६४ ग्राम र चरेस ५ किलो २२५ ग्रामसहित पक्राउ गरेको छ। दाङको राप्ती गाउँपालिका–३ का ३४ वर्षीया रतिमा रोकासहित उनीहरूलाई नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले नियन्त्रणमा लिएको हो।

सुर्खेतको वीरेन्द्रनगरबाट तीन जना ब्राउनसुगर १ ग्राम ४७० मिलिग्रामसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४१ वर्षीय अस्कर अली, बर्दियाका ३६ वर्षीय सदाम हुसेन र ३९ वर्षीया सैजा खातुन रहेका छन्।

पर्साको छिपहरमाई गाउँपालिका–५ भिष्वाबाट भारततर्फ जाँदै गरेको मोटरसाइकलमा सवार दुई भारतीय नागरिक गाँजा ५ किलोसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बेतिया थाना मझौलीका ५० वर्षीय दिनेश महतो र ५२ वर्षीय छोटेलाल महतो रहेका छन्।

सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानबाट धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का २८ वर्षीय चरन राई ११ किलो १२० ग्राम गाँजासहित पक्राउ परेका छन्।

यस्तै, झापाको कचनकवल गाउँपालिका–१ बनियाभिट्टाबाट चार जना ब्राउनसुगर १ ग्राम २० मिलिग्रामसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा २४ वर्षीय धिरेन केरुङ, २८ वर्षीय नानुङ लिम्बु, ३४ वर्षीय दिपेश माझी र २४ वर्षीया मिना राई रहेका छन्।

झापाकै बिर्तामोड नगरपालिका–६ स्यालडाँगीबाट ३४ वर्षीय पदम चौधरी ब्राउनसुगर २९० मिलिग्रामसहित पक्राउ परेका छन्। उनको घर तलासीका क्रममा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट ३० वर्षीय राकेश बिष्ट ब्राउनसुगर १०० मिलिग्रामसहित पक्राउ परेका छन्।

पक्राउ परेकामाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्