नेभिगेशन
नेपाल प्रहरी

आकर्षक तलबको प्रलोभनमा वैदेशिक रोजगारीको नाममा ठगी, ५ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलब र विभिन्न देश पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० बस्ने झापा घर भएकी २९ वर्षीया सुष्मा भण्डारी, कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने सिन्धुली घर भएकी २८ वर्षीया करिना देवकोटा, काठमाडौं महानगरपालिका–३ बस्ने झापा घर भएका २७ वर्षीय साजन खनाल, भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने दोलखा घर भएका ३४ वर्षीय पेमा लामा र काठमाडौं महानगरपालिका–१५ बस्ने ओखलढुंगा घर भएकी २७ वर्षीया तोमकुमारी थापा रहेका छन्।

प्रहरीका अनुसार सुष्माले चेक रिपब्लिक पठाइदिने भन्दै एक जना पीडितबाट ५ लाख ३५ हजार रुपैयाँ, करिनाले लिथुआनिया पठाइदिने भन्दै २ लाख ५० हजार रुपैयाँ, साजनले फिनल्याण्ड पठाइदिने भन्दै १२ लाख रुपैयाँ, पेमाले रोमानिया पठाइदिने भन्दै १ लाख रुपैयाँ र तोमकुमारीले माल्टा पठाइदिने भन्दै १ लाख ३५ हजार रुपैयाँ लिएको आरोप छ। रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।

उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्