नेभिगेशन
नेपाल प्रहरी

रसुवा बाढी- २८ प्रहरी अझै सम्पर्कविहीन, ३६ जना सम्पर्कमा आइपुगे: नेपाल प्रहरी

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका प्रहरी कर्मचारीमध्ये ३६ जना सम्पर्कमा आएका छन्। नेपाल प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको विवरणअनुसार अझै २८ जना प्रहरी कर्मचारीको अवस्था अज्ञात छ।

प्रहरी बुलेटिनअनुसार बाढीपछि रसुवाका विभिन्न प्रहरी इकाइमा कार्यरत ६४ जना प्रहरी सम्पर्कविहीन भएका थिए। तीमध्ये इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना सम्पर्कमा आएका छन्।

त्यस्तै, प्रहरी चौकी रसुवागढीका नौ जनामध्ये एक, स्याफ्रुबेंसीका आठमध्ये पाँच, प्रहरी चौकी मैलुङका आठमध्ये तीन र बेत्रावती प्रहरी चौकीका १० जनामध्ये नौ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी हाकुमा कार्यरत ६ जनामध्ये पाँच जना पनि सम्पर्कमा आएका छन्। विभिन्न स्थानबाट प्रहरी कर्मचारी सम्पर्कमा आउने क्रम जारी रहे पनि २८ जना अझै सम्पर्कविहीन रहेको प्रहरीको पछिल्लो बुलेटिनमा उल्लेख छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीन प्रहरी कर्मचारीको अवस्थाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्