नेभिगेशन
नेपाल प्रहरी

बाढी प्रभावित ६ क्षेत्रमा एसएसपीको नेतृत्वमा प्रहरी टोली परिचान, को कहाँ खटिए?

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाको माथिल्लो र तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ, चितवनलगायत प्रभावित जिल्लामा नेपाल प्रहरीले ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा थप प्रहरी जनशक्ति परिचालन गरेको छ।

खोज तथा उद्धार, राहत वितरण, शव व्यवस्थापन र प्रभावित क्षेत्रको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन एसएसपीको कमान्डमा छुट्टाछुट्टै टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। टोलीलाई प्रभावित क्षेत्रको अवस्था र गतिविधिबारे जानकारी संकलन तथा समन्वयका लागि ड्रोन क्यामेरा, फोटोग्राफी तथा सञ्चार उपकरणसमेत उपलब्ध गराइएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार एसएसपी तारादेवी थापालाई जिल्ला प्रहरी कार्यालय चितवनमा खटाइएको छ। एसएसपी श्यामकृष्ण अधिकारीलाई मुग्लिङमा बेस राखेर तनहुँ, चितवन र गोरखाको अवस्था हेर्ने जिम्मेवारी दिइएको छ।

त्यसैगरी एसएसपी रमेश थापाको नेतृत्वमा चार सदस्यीय टोलीलाई गल्छीमा बेस बनाएर धादिङ तथा नुवाकोटको सीमासम्मको क्षेत्रमा परिचालन गरिएको छ।

एसएसपी अजय केसीलाई पूर्वी नवलपरासी र पश्चिम नवलपरासीको जिम्मेवारी दिइएको छ। त्यस्तै एसएसपी विमलराज कँडेलको कमान्डमा चार सदस्यीय टोली नुवाकोटमा बेस रहने गरी नुवाकोट जिल्लाभर तथा रसुवा सीमासम्म परिचालन गरिएको छ।

यसैगरी एसएसपी होबिन्द्र बोगटीको नेतृत्वमा चार सदस्यीय टोलीलाई रसुवासहित विभिन्न स्थानमा परिचालन गरिएको छ। उक्त टोलीले बाढी तथा पहिरोबाट क्षतिग्रस्त मुख्य राजमार्गमा आवतजावत सहज बनाउने, सुरक्षा निकाय तथा सरकारी निकायबीच आवश्यक समन्वय गर्ने र अन्य सुरक्षा व्यवस्थापनमा सहजीकरण गर्ने जिम्मेवारी पाएको छ।

प्रहरी प्रधान कार्यालयले बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै सुरक्षा अवस्था व्यवस्थापन र आवश्यक सूचना संकलनका लागि टोलीहरूले सम्बन्धित निकायसँग समन्वय गरी काम गर्ने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्