नेभिगेशन
नेपाल प्रहरी

विभिन्न स्थानबाट लागूऔषधसहित सात जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं, मकवानपुर, दाङ, रूपन्देही र धनकुटाका व्यक्ति रहेका छन्।

काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट ट्रामाडोल ३ हजार २ सय ७० ट्याब्लेट र नाइट्राजेपाम ८ ट्याब्लेटसहित बाराको निजगढ नगरपालिका–७ घर भएका २८ वर्षीय मानबहादुर श्रेष्ठ पक्राउ परेका छन्। रौतहटको चपुरबाट काठमाडौं आउँदै गरेको ना।१ ज ८२६० नम्बरको सुमोमा सवार उनलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो।

काठमाडौंकै कीर्तिपुर नगरपालिका–७ भाजंगलबाट १ ग्राम ३ सय ५० मिलिग्राम ब्राउनसुगर र ३० ट्याब्लेट ट्रामाडोलसहित कैलालीको गोदावरी नगरपालिका–८ घर भएका २८ वर्षीय रोशन मायालु सिंह भाट पक्राउ परेका छन्। उनको डेरा कोठामा प्रहरीले तलासी गर्दा लागूऔषध र नगद २९ हजार ५ सय ५५ रुपैयाँसमेत फेला पारेको थियो।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ मानेडाँडाबाट २ ग्राम ८ सय ५० मिलिग्राम खैरो हेरोइन र एउटा तराजुसहित ३४ वर्षीय संजय रोक्का पक्राउ परेका छन्। हेटौंडा–१७ हटिया घर भएका रोक्काको डेरा कोठामा तलासी गर्दा उक्त लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

दाङको घोराही उपमहानगरपालिका–१३ डुमरगाउँबाट ५ ग्राम ८० मिलिग्राम ब्राउनसुगरसहित २२ वर्षीय गजेन्द्र जंग सुनार पक्राउ परेका छन्। सुरुमा स्कुटरमा सवार उनलाई ३ सय ४० मिलिग्राम ब्राउनसुगर र ६ हजार ४ सय ५ रुपैयाँसहित पक्राउ गरिएको थियो। थप अनुसन्धानका क्रममा उनको कोठाबाट ४ ग्राम ७ सय ४० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।

रूपन्देहीको मायादेवी गाउँपालिका–३ कम्हरियाबाट १ ग्राम १ सय ५० मिलिग्राम ब्राउनसुगरसहित ३४ वर्षीय वाल मुकुन्द हरिजन पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

धनकुटाको पाख्रिबास नगरपालिका–३ बाट ४ सय ५० मिलिग्राम खैरो हेरोइन र ६० ट्याब्लेट ट्रामाडोलसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाख्रिबास–४ का २२ वर्षीय राकेश राई र २५ वर्षीय पवन बस्नेत रहेका छन्।

पक्राउ परेका सबैमाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्