नेभिगेशन
नेपाल प्रहरी

त्रिशूलीमा बाढीले बगाएर ल्याएको बैंकको सेफमा लुटपाट, २९ जना प्रहरी नियन्त्रणमा

धादिङमा त्रिशूली नदीको बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकालिएको घटनामा २९ जना पक्राउ परेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार पक्राउ परेकाहरूबाट ठूलो परिमाणमा नगद रकम फेला परेको छ। उनका अनुसार बरामद रकम ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ रहेको छ।

बाढीका कारण बैंकको सेफ त्रिशूली नदीमा बगेपछि त्यसलाई धादिङ क्षेत्रमा फेला पारिएको थियो। सेफ भेटिएपछि त्यसलाई तोडेर भित्र रहेको रकम निकालिएको सूचना सुरक्षा निकायसम्म पुगेको थियो।

सूचना पाएपछि प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी प्रकाश दाहालले बताए। उनका अनुसार घटनामा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ भने नगद रकमसमेत बरामद गरिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको र यससम्बन्धी विस्तृत विवरण प्रहरीले औपचारिक विज्ञप्तिमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ।

यस विषयमा धादिङ–१ की रास्वपा सांसद आशिका तामाङले पनि सामाजिक सञ्जालमार्फत आवाज उठाउँदै आएकी थिइन्। उनले बाढीले बगाएर ल्याएको बैंकको सेफ फुटाएर रकम निकालिएको दाबी गर्दै घटनाबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएकी थिइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्