नेभिगेशन
नेपाल प्रहरी

लागूऔषधसहित १४ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । नेपाल प्रहरीले देशभर सञ्चालन गरेको लागूऔषधविरुद्धको कारबाहीमा १४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार विभिन्न स्थानबाट ब्राउन सुगर, चरेस, गाँजा तथा नियन्त्रित लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट ८ सय मिलिग्राम खैरो हेरोइनसहित डडेलधुराको अजयमेरु गाउँपालिका–२ का २७ वर्षीय मनोजकुमार ऐर पक्राउ परेका छन् । मकवानपुरबाट काठमाडौं आउँदै गरेको बा।प्र।०३–००१ ज १०६३ नम्बरको विद्युतीय गाडी जाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरबाट ४ सय ६० मिलिग्राम खैरो हेरोइन र ११ हजार ५ सय रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १८ वर्षीय एक किशोरसहित दुई जना रहेका छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ बाट १३ किलो ९ सय ५ ग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–१ का २२ वर्षीय कलक धामी र केदारस्यु गाउँपालिका–७ का ५० वर्षीय करन धामी छन् । सु।प।प्र।०१–००१ च ४८११ नम्बरको पिकअप जाँच गर्ने क्रममा चरेस फेला परेको प्रहरीले जनाएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ बाट २१ ग्राम ४ सय ४० मिलिग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर–१ का ४१ वर्षीय रमेश गुरुङ र वडा नम्बर ६ का ४९ वर्षीय सुवास जिसी रहेका छन् । उनीहरू बा।११ च ६२५६ नम्बरको कारमा सवार थिए ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवन बजारबाट ट्रामाडोल ६ सय ५० ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बराहक्षेत्र–१० का १९ वर्षीय दिप कार्की र १९ वर्षीय अमन भन्ने कृष्ण आचार्य रहेका छन् । उनीहरू प्र।०१–०२–०५२ प ९४०३ नम्बरको मोटरसाइकलमा सवार थिए ।

यसैगरी सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट ८ सय २० मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–५ का ३४ वर्षीय अरुण नेपाली र ३५ वर्षीय सुमन कार्की रहेका छन् । उनीहरू प्र-०२–००५ ह ६९५९ नम्बरको अटोमा सवार थिए ।

इटहरी उपमहानगरपालिका–१ आँपगाछी चोकबाट नाइट्राजेपाम ७४ ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–११ का ४७ वर्षीय दिनेश दाहालसहित दुई जना रहेका छन् ।

उदयपुरको बेलका नगरपालिका–५ शिखरमाडीबाट ट्रामाडोल २ सय २४ ट्याब्लेट र ८ हजार ५ सय ६० रुपैयाँसहित २५ वर्षीय आशिष राई पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेकाहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्