नेभिगेशन
नेपाल प्रहरी

नाम भगवान तर काम दानवको, बाढीपीडितका नाममा नक्कली स्टेटमेन्ट, क्यूआर कोड राखेर ठग्ने पक्राउ

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा भ्रम सिर्जना गरी ठगी गर्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान कार्की रहेका छन्। नाम भगवान तर काम चाही दानवकै गर्ने ती भगवानलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै कार्कीले च्याटजीपीटीको प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार गरेका थिए।

उनले उक्त नक्कली स्टेटमेन्टमा आफ्नै क्यूआर कोडसमेत राखेर सामाजिक सञ्जालमा पोस्ट गरेको प्रहरीले जनाएको छ।

राहत तथा सहयोग संकलनको नाममा सामाजिक सञ्जाल प्रयोगकर्तालाई भ्रममा पारेर ठगी गर्ने उद्देश्यले यस्तो कार्य गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्