नेभिगेशन
नेपाल प्रहरी

विपद्को समयमा देखा पर्न सक्ने सुरक्षा चुनौती प्रति नेपाल प्रहरी थप संवेदनशील

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उत्पन्न विषम परिस्थितिमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति–सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाल प्रहरी सक्रिय भएको छ। विपद्को समयमा सुरक्षाकर्मी खोज तथा उद्धारमा व्यस्त हुने तथा प्रभावित क्षेत्रमा त्रासको वातावरण रहने भएकाले यही अवस्थाको फाइदा उठाउँदै चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा निगरानी बढाएको हो।

यस क्रममा धादिङको गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी नगद चोरी गरेको आरोपमा २९ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली विवरण तयार गरी सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान कार्की पक्राउ परेका छन्। उनले बाढी प्रभावितको उद्धार तथा राहतका लागि नेपाल सरकारद्वारा सञ्चालित उक्त कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको देखाउने गरी च्याटजीपीटीको प्रयोगबाट नक्कली स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमा पोस्ट गरेको प्रहरीले जनाएको छ।

यसैगरी, बाढीले बगाएर ल्याएको शवबाट कानको मुन्द्रा चोरी गरेको आरोपमा चितवनको भरतपुर महानगरपालिका–१ लीलाचोकका २५ वर्षीय मदन गुरुङसहित दुई जना भदौ ११ गते पक्राउ परेका थिए।

प्रहरीले विपद्को अवस्थालाई आपराधिक गतिविधिका लागि प्रयोग हुन नदिन सूचना संकलन, सामाजिक सञ्जालको निगरानी, नियमित गस्ती तथा प्रहरी परिचालनलाई थप प्रभावकारी बनाएको जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले विपद्को मौका छोपी हुनसक्ने चोरी, लुटपाट तथा राहत सहयोगका नाममा हुने साइबर स्क्यामलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी थप संवेदनशील भएर कार्य गरिरहेको बताए।

उनका अनुसार बाढी प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा गर्नुका साथै कुनै पनि किसिमका आपराधिक गतिविधि नियन्त्रण गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गरिएको छ। साथै, विपद्को नाममा हुनसक्ने साइबर स्क्यामबारे आम नागरिकलाई समेत प्रहरीले सचेत गराउँदै आएको छ।

बाढी प्रभावित क्षेत्रमा थप जनधनको क्षति हुन नदिन जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। त्यस्ता स्थानमा आपराधिक मनसाय भएका व्यक्तिले चोरी तथा लुटपाट गर्नसक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले गस्ती तथा निगरानीलाई अझ तीव्र बनाएको छ।

विपद्का कारण सडक तथा पुल अवरुद्ध हुँदा उद्धार तथा राहत वितरणमा कठिनाइ भइरहेको अवस्थामा अवरुद्ध सडक खुलाउन नेपाल प्रहरीले स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय गरिरहेको जनाएको छ। घाइतेको उद्धार तथा विस्थापित नागरिकलाई राहत वितरणमा कुनै त्रुटि नहोस् भन्नेतर्फ पनि प्रहरी सचेत रहेको छ।

प्रहरीले प्रभावित क्षेत्रमा आपराधिक गतिविधि भइरहेको वा हुनसक्नेबारे सूचना भए तत्काल नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा जानकारी गराउन अनुरोध गरेको छ। साथै, बाढी प्रभावित क्षेत्रमा भेटिएका नगद, गरगहना तथा अन्य बहुमूल्य सामान सुरक्षित राखी यथाशीघ्र नजिकको प्रहरी कार्यालयमा बुझाउनसमेत प्रहरीले आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्