नेभिगेशन
नेपाल प्रहरी

आईजीपी कार्कीद्वारा १६ प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा २९ जना नियुक्त भएका छन्। नियुक्त भएकामध्ये विभागीयतर्फका १६ जना प्रहरी निरीक्षकलाई सोमबार दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विभागीयतर्फ नियुक्त १६ जना प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन । सोही कार्यक्रममा खुलातर्फ नियुक्त १३ जना प्रहरी निरीक्षकलाई भने उनले नियुक्तिपत्र प्रदान गरेका हुन ।

२०८२ मंसिर २६ गते प्रकाशित विज्ञापनअनुसार सञ्चालन भएको खुला प्रतियोगिताको अन्तिम नतिजा २०८३ भदौ ६ गते प्रकाशित भएको थियो। नतिजामा विभागीयतर्फ १६ र खुलातर्फ १३ गरी २९ जना प्रहरी निरीक्षक उत्तीर्ण भएका थिए। गृह मन्त्रालयको सचिवस्तरीय २०८३ भदौ ९ गतेको निर्णयअनुसार उनीहरूलाई भदौ १५ गतेदेखि लागू हुने गरी प्रहरी निरीक्षक पदमा नियुक्त गरिएको हो।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले नवनियुक्त प्रहरी निरीक्षकहरूलाई बधाई तथा संगठनमा स्वागत गरे। उनले उनीहरूले गरेको समर्पण, मेहनत र परिश्रमको प्रतिफलस्वरूप सफलता प्राप्त भएको उल्लेख गर्दै आगामी जिम्मेवारीमा प्रहरी संगठनका नीति, निर्देशन, मूल्य–मान्यता र आदर्शलाई आत्मसात् गर्न निर्देशन दिएका थिए।

नागरिकलाई केन्द्रमा राखेर उच्च व्यावसायिकता, इमानदारी र जिम्मेवारीबोधका साथ काम गर्दै संगठनको श्रीवृद्धिमा योगदान पुर्‍याउ कार्कीले आग्रह गरे।

बदलिँदो सुरक्षा परिवेशमा संगठित अपराध, साइबर अपराध, आर्थिक अपराध तथा प्रविधिको दुरुपयोगबाट सिर्जित अपराधका चुनौती बढिरहेको उल्लेख गर्दै महानिरीक्षक कार्कीले यस्ता चुनौती सामना गर्न व्यक्तिगत ज्ञान, सीप, व्यावसायिक दक्षता र उच्च नैतिक आचरणका साथ कार्यसम्पादन गर्न निर्देशन दिए।

त्यस्तै, विपद् व्यवस्थापनका क्रममा देखिने समस्या र चुनौतीको उचित सम्बोधन गर्दै नागरिकको अपेक्षाअनुसार जिम्मेवारी पूरा गर्नसमेत उनले निर्देशन दिएका छन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी अधिकृत र जवानहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्