नेभिगेशन
नेपाल प्रहरी

वैदेशिक रोजगारीमा इराक पठाइदिने भन्दै १० लाख ठगी: सञ्चमाया पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै तीन जनाबाट १० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ बस्दै आएकी ५५ वर्षीया सञ्चमाया तामाङ रहेकी छन्।

प्रहरीका अनुसार तामाङले बेरोजगार युवायुवतीलाई इराकमा आकर्षक तलबसहितको रोजगारी लगाइदिने प्रलोभन देखाएर रकम लिएकी थिइन्। तर, रकम लिएपछि लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।

उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा तामाङले तीन जना पीडितबाट १० लाख रुपैयाँ लिएको खुलेपछि उनलाई बूढानीलकण्ठको पासिकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकी तामाङलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ। विभागका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले घटनाबारे जानकारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्