नेभिगेशन
नेपाल प्रहरी

जग्गा विवादमा भाइलाई कुटपिट गरेको आरोपमा दिदी–भिनाजु पक्राउ

काठमाडौं। कञ्चनपुरमा जग्गासम्बन्धी विवादले उग्र रूप लिएपछि आफ्नै भाइलाई कुटपिट गरेको आरोपमा दिदी र भिनाजु पक्राउ परेका छन्।

प्रहरीका अनुसार वेदकोट नगरपालिका–७ गाउजीका ४९ वर्षीय गोपाल गिरीमाथि लाठी प्रहार गरी कुटपिट गरेको आरोपमा उनकी दिदी पार्वती नाथ र भिनाजु वलदेव नाथलाई नियन्त्रणमा लिइएको हो।

कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार गिरीमाथि कुटपिट भएको सूचना पाएपछि दुवै जनालाई गए राति पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानमा घरायसी तथा जग्गासम्बन्धी विवादका क्रममा उनीमाथि लाठीले कुटपिट भएको खुलेको प्रहरीले जनाएको छ।

कुटपिटबाट गिरीको पिठ्युमा चोट लागेको छ। उनलाई उपचारका लागि धनगढी ल्याइएकोमा हाल माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार पक्राउ परेका दिदी–भिनाजुलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्