नेभिगेशन
नेपाल प्रहरी

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी, दुई जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ओखलढुंगाको मोलुङ गाउँपालिका–७ का ३३ वर्षीय यज्ञबहादुर तामाङ र काठमाडौं महानगरपालिका–४ बस्ने बागलुङको बडिगाड गाउँपालिका–३ का ३० वर्षीय सुजेन घर्ती मगर रहेका छन्।

प्रहरीका अनुसार यज्ञबहादुरले मलेसिया पठाइदिने भन्दै एक जना पीडितबाट ४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए। त्यस्तै, सुजेनले हंगेरी पठाइदिने भन्दै तीन जना पीडितबाट ५ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो।

उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले यज्ञबहादुरलाई काठमाडौं महानगरपालिका–९ र सुजेनलाई महानगरपालिका–७ बाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्