नेभिगेशन
नेपाल प्रहरी

विपत्तिमा खुसी व्यक्त गर्दै सामाजिक सद्भाव भड्काउने भिडियो बनाएर पोष्ट गर्ने युवक पक्राउ

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिलाई लिएर विभिन्न जातजातिलाई लक्षित गर्दै अपमानजनक अभिव्यक्ति दिने तथा विपत्तिमा खुसी व्यक्त गर्ने भिडियो सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडै रहेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ।

ब्यूरोका अनुसार उनले विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने र भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिमा खुसी व्यक्त गर्ने किसिमका भिडियो सामग्री बनाएर सामाजिक सञ्जाल फेसबुकको रिल्समा प्रसारण गरेका थिए।

उक्त सामग्रीबारे साइबर ब्यूरोले प्राविधिक विश्लेषण तथा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा भिडियो प्रसारण गर्ने व्यक्ति मडै रहेको खुलेपछि ब्यूरोबाट खटिएको टोलीले उनलाई भदौ २० गते पक्राउ गरेको हो।

पक्राउ परेका मडैलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरेर उनीमाथि थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्