नेभिगेशन
नेपाल प्रहरी

वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती, गिरोहका पाँच जना पक्राउ

काठमाडौं ।   वृद्ध दम्पतीलाई बन्धक बनाएर गरगहना तथा नगद लुटपाट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

रामेछापको  खाँडादेवी गाउँपालिका–२ मझुवा नेवारटोलमा गत भदौ १८ गते राति करिब १२ बजे ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छीमाया तामाङ घरमा सुतिरहेका बेला तीन जना नकाबधारी व्यक्ति ढोका फुटाएर घरभित्र प्रवेश गरेका थिए।

उनीहरूले वृद्ध दम्पतीको हात प्लास्टिकको टेपले बाँध्नुका साथै मुख थुनेर आँखामा पट्टी लगाई ज्यान मार्ने धम्की दिएका थिए। त्यसपछि घरमा रहेका नगद तथा उनीहरूले लगाएका गरगहना लुटेर फरार भएका थिए।

घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउने क्रममा डकैतीमा संलग्न रहेको आरोपमा पाँच जनालाई भदौ २० गते भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट लाखौं नगद, मोबाइल, मोटरसाइकल, बैंकसम्बन्धी कागजात तथा डकैतीमा प्रयोग भएको भनिएका कपडासहित विभिन्न सामान बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा सिन्धुली घ्याङलेख गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछाप खाँडादेवी–२ का ३२ वर्षीय दिर्घराज मोक्तान, सोही ठाउँका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापा दमक–७ का ४४ वर्षीय पिताम्बर गहतराज र धनकुटा बेलाहारा–५ का ३८ वर्षीय दिपक भनिने गुणराज विश्वकर्मा रहेका छन्।

प्रहरीका अनुसार सुमनको साथबाट २५ हजार रुपैयाँ नगद, रेडमी मोबाइल र बा.७३ प ८७१२ नम्बरको २२० सीसीको मोटरसाइकल बरामद भएको छ। दिर्घराजको साथबाट ५२ हजार २ सय रुपैयाँ, नागरिकता, राहदानी, बैंकको चेक तथा घटनामा प्रयोग भएको भनिएको ज्याकेट र हाफ कट्टु बरामद गरिएको छ।

त्यस्तै, पशुपति श्रेष्ठको साथबाट ६ हजार ४ सय ६० रुपैयाँ नगद, मोबाइल, बा.७२ प ५५८ नम्बरको मोटरसाइकल, बैंक खातामा रहेको रकमसम्बन्धी विवरण, बचत पुस्तिका, नागरिकता लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट बुद्धचित्तको दाना, ढलौटको पानस–टुकी, पुराना सिक्का र सुनजस्तो पहेँलो धातुको औँठीसमेत बरामद भएको  प्रहरीले जनाएको छ।

प्रहरीका  अनुसार पिताम्बर गहतराजको साथबाट मोबाइल तथा गुणराज विश्वकर्माको साथबाट सुनजस्तो पहेँलो धातुको दुईवटा रिङ बरामद गरिएको छ।

अन्य चोरीका घटनामा पनि संलग्नता

प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये पशुपति श्रेष्ठको समूह अन्य चोरीका घटनामा समेत संलग्न रहेको खुलेको छ। उक्त समूहले खाँडादेवी गाउँपालिका–७ स्थित रुद्रेश्वर महादेव मन्दिरको दानपेटिका फुटाएर रकम चोरी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

यस्तै, खाँडादेवी–३ की सुन्दरी श्रेष्ठको करिब २८-३० केजीको खसी तथा सोही वडाका रामबहादुर श्रेष्ठको गोठबाट करिब १५ केजीको बोका चोरी भएको घटनामा पनि पशुपति श्रेष्ठको समूहको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रहरीको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम)  जाँच गर्दा पशुपति श्रेष्ठ यसअघि प्रहरी वृत्त कालीमाटीबाट डाँका तथा चोरीसम्बन्धी कसुरमा मुद्दा चलेको व्यक्ति रहेको खुलेको छ। दिर्घराज मोक्तानविरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापबाट अभद्र व्यवहारसम्बन्धी मुद्दा चलेको तथा गुणराज विश्वकर्माविरुद्ध प्रहरी वृत्त बौद्ध, काठमाडौंमा जुवासम्बन्धी कसुरमा मुद्दा चलेकोसमेत प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्