नेभिगेशन
नेपाल प्रहरी

नक्कली टिकटक आईडीबाट अनलाइन ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली टिकटक खाता खोलेर सस्तो मूल्यमा ईभी स्कुटर तथा मोटरसाइकलका पार्ट्स उपलब्ध गराउने भन्दै अनलाइन ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–५ घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २१ वर्षीय सन्दिप कुमार सिंह कुशुवाह, सप्तरी राजविराज नगरपालिका–९ घर भएका २१ वर्षीय सुमित दास र महोत्तरी गौशाला नगरपालिका–५ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ बस्ने २२ वर्षीय दिपुश सिंह रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले नक्कली टिकटक प्रोफाइलमार्फत ईभी स्कुटर, मोटरसाइकल तथा विभिन्न पार्ट्स सस्तो दरमा बिक्री गर्ने भन्दै विज्ञापन पोस्ट गरेका थिए। विज्ञापन हेरेर सम्पर्क गर्ने ग्राहकलाई सामान घरमै पुर्‍याइदिने भन्दै अग्रिम रकम पठाउन लगाउने र रकम प्राप्त भएपछि सम्पर्कविहीन हुने गरेको उजुरी प्रहरीमा परेको थियो।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले अनुसन्धान अघि बढाउँदै उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्