नेभिगेशन
नेपाल प्रहरी

राहत सामग्री सुरक्षाकर्मीले लिएर वितरण नगरेको भन्ने अफवाहप्रति प्रहरीको ध्यानाकर्षण

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सुरक्षा निकायले राहत सामग्री लुकाएको, वितरण नगरेको वा सामग्री सडेर गएको भन्ने आशयका भ्रमपूर्ण तथा तथ्यहीन सूचना सामाजिक सञ्जालमा फैलाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायतका सुरक्षाकर्मी खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा निरन्तर खटिरहेको उल्लेख गरिएको छ।
विपद्का बेला सुरक्षाकर्मीले जोखिम मोलेर नागरिकको उद्धार, बेपत्ता व्यक्तिको खोजी, घाइतेको उपचार, फेला परेका शवको व्यवस्थापन तथा राहत सामग्री वितरणलगायतका मानवीय कार्य गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सामाजिक सञ्जालमा सुरक्षा निकायलाई लक्षित गरी ‘आर्मी–पुलिसले राहत सामग्री आफैं लिए’, ‘वितरण गरेनन्’ र ‘राहत सामग्री सडेर गयो’ भन्नेजस्ता अफवाह फैलाइएको भन्दै प्रहरीले त्यस्ता दाबी तथ्यहीन रहेको स्पष्ट पारेको छ।

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीसँग कुनै पनि राहत सामग्री भण्डारण नरहेको समेत जानकारी गराएको छ। विपद्को समयमा खटिएका सुरक्षाकर्मीको मनोबलमा प्रतिकूल असर पर्ने, नागरिकमा सुरक्षा निकायप्रति अविश्वास सिर्जना हुने र विपद् व्यवस्थापनको संवेदनशील कार्यसमेत प्रभावित हुने गरी कपोलकल्पित आरोप तथा अफवाह फैलाउनु गैरजिम्मेवार कार्य भएको विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले विपद्को संवेदनशील अवस्थामा अपुष्ट सूचना तथा अफवाहको प्रचार–प्रसार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र मानवीय सेवामा सुरक्षा निकाय निरन्तर प्रतिबद्ध रहेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्