नेभिगेशन
नेपाल प्रहरी

ट्याङ्करबाट डिजेल चोरिरहेको अवस्थामा एक जना पक्राउ, ३ वटा ट्याङ्कर नियन्त्रणमा

रुपन्देही । नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सो क्रममा तीनवटा ट्याङ्करलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार रुपन्देहीकोसिद्धार्थनगर नगरपालिका–८ स्थित क्षेत्रमा मंगलबार ट्याङ्करको सिल तोडेर पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित एक जनालाई पक्राउ गर्दै तीनवटा ट्याङ्कर नियन्त्रणमा लिइएको हो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा ती व्यक्तिलाई फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुईवटा ट्याङ्कर घटनास्थलमै फेला परेका थिए। अर्को एक ट्याङ्कर भने प्रहरीलाई देखेपछि घटनास्थलबाट भागेको थियो। प्रहरीले पछ्याउँदै उक्त ट्याङ्करलाई समेत नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र पक्राउ परेका व्यक्तिमाथि डिजेल चोरीसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्